
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई सकारात्मकता चाहिएको बताएका छन् । उनले यति धेरै नकारात्मकले समाज चल्न नसक्ने पनि बताए । छठ पर्व मनाउन आइतबार सर्लाही जाने क्रममा सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले छठीमाईले सबैलाई सकारात्मक हुने प्रेरणा दिऊन् भन्ने कामना पनि गरे ।
‘नेपालले जुन खालको घृणा, नकारात्मकता, प्रतिशोध र निषेध भोगिरहेको छ, यो सबै नेगेटिभिटी जे छ सूर्यको उपसनासँगै यो कुरा भष्म भएर जाओस्’, सभापति थापाले भने, ‘यति धेरै नकारात्मकताले हाम्रो समाज चल्न सक्दैन । नेपाललाई सकारात्मकता चाहिएको छ ।’
उनी छठ मनाउन गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने गएका हुन् । सर्लाहीमा रहँदा उनले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधिमा सहभागिता जनाउने थापाको सचिवालयले जनाएको छ । यससँगै उनले स्थानीय मतदाता, नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम छ । रास्वपा सभापति रवि लामिछाने पनि छठ मनाउन मधेश झरेका छन् । उनी शनिबार नै मधेश झरिसकेका छन् ।