
काठमाडौँ | आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले छठ पर्वलाई क्षेत्रीय पर्वका रूपमा सीमित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका हुन् । वैज्ञानिक महत्त्व बोकेको छठ पर्वलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।
चार दिनसम्म मनाइने छठ पर्वमा सरकारले दुई दिन मात्रै सार्वजनिक बिदा दिएकोप्रति पनि साहले असन्तुष्टि जनाएका छन् । चारै दिन सार्वजनिक बिदा दिनुपर्ने उनको माग छ । छठ पर्व मधेशमा मात्रै नभई देशभर र विदेशमा समेत मनाइने उल्लेख गर्दै उनले यसलाई संकुचित नभई विश्वव्यापी बनाउनुपर्ने बताएका छन् ।
छठको अवसरमा शुभकामना दिँदै साहले पर्वले समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।