काठमाडौँ | स्वास्थ्यमन्त्री निशा मेहताले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने बताएकी छन्। मन्त्री मेहताले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिँदै घाइतेहरूको उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी हुन्। उनले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते शान्तनु ढकालको शल्यक्रियाबारे आफू निरन्तर जानकार रहेको पनि बताइन्।
मन्त्री मेहताका अनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार प्रचलित कानुनी व्यवस्थाबमोजिम भइरहेको छ। उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत आवश्यक भुक्तानी तथा सोधभर्नाको प्रक्रिया अघि बढाइनेछ। उनले कुनै पनि घाइते आर्थिक अभावका कारण आवश्यक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने बताएकी छन्।
त्यस्तै, थप उपचारका लागि भारत पठाउनुपर्ने केही घाइतेहरूको उपचार व्यवस्थापनका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएकी छन्। यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनको भनाइ छ। घाइतेहरूको स्वास्थ्योपचार र शीघ्र स्वास्थ्यलाभ सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री मेहताले आवश्यक उपचार, सहयोग र समन्वयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएकी छन्। उनले शान्तनु ढकालसहित उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देश र नागरिकको हितका लागि उनीहरूले पुर्याएको योगदान तथा देखाएको साहसप्रति सम्मान व्यक्त गरेकी छन्।