2026-09-08 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’

काठमाडौँ | कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरु थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’ । अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ । शरीरका अङ्ग अचेत छन् । आँखा खुल्दैनन् । कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ । कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ ।

त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको । कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उहाँको स्थायी बसोबास छ । दुई वर्ष दुई महिना बित्नै लाग्यो, उहाँ अस्पतालको शय्याबाट उठ्न सक्नुभएको छैन । बिरामी तेजबहादुरका साथमा श्रीमती विमला रमौली हुनुहुन्छ । तेजबहादुरको स्याहार–सुसार र पालन–पोषण उहाँकै भरमा छ । बिरामी श्रीमान्को पीडामा पिरोलिएकी विमला छेवैमा बसेर नाडी समाउनु हुन्छ । मुहार सुम्सुम्याउनु हुन्छ ।

यतिबेला उहाँको जीवनमा आइलागेको पीडा र भएको अभाव पोखिसाध्य छैन । माइतीमा बुबा बितेपछि आमाको अवस्था दयनीय छ । घरतर्फका बुबा–आमा वृद्ध हुनुहुन्छ । अस्पतालमा विमलालाई सघाउने कोही छैनन् । यस्तो दुःखद परिस्थितिको सामना उहाँ एक्लै गरिराख्नुभएको छ ।

बिरामी श्रीमान्को हालत देख्दा उहाँको मन थामिदैन । आँखाबाट आँसु बगाइरहनु हुन्छ । बेला–बेलामा उहाँलाई चिच्याएर रुन आउँछ । त्यसबेला बिरामी श्रीमान्लाई रोएको थाहा नदिन शौचालयमा गएर रुँदा–रुँदा गरेर बाहिर निस्कनु हुन्छ । “२६ महिना भयो, रोएरै दिनरात बितिरहेको छ । म नजिक बसेर रुँदा उहाँको धड्कन बढ्छ । शौचालयमा गएर रुन्छु,” विमलाले आँखाबाट आँसुका ढिका खसाल्दै भन्नुभयो । २६ महिनाअघि त तेजबहादुर र विमलाको दाम्पत्य जीवन खुसीले भरिएको थियो । चार वर्षको प्रेम सम्बन्ध विवाहमा रुपान्तरण भएको पाँच वर्ष पुगेकै थिएन । सुखी परिवारका लागि सन्तान जन्माउने योजना बनाउँदै थिए । २ चैत २०७९ दशा बनेर आयो यस दम्पतीको जीवनमा । तेजबहादुरले चलाएको ज८प ६४५८ नंको मोटरसाइकललाई तीनपाटन–९ का शेषराज पहाडीले चलाएको वा.प्र०१०२७च ४३७२ नंको बोलेरोले ठक्कर दियो । कमलामाईबाट तीनपाटन–११ तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही स्थानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरोले तीनपाटन–२ गैरीमा ठक्कर दिएपछि गम्भीर घाइते भएका तेजबहादुर त्यसयता कोमामा हुनुहुन्छ ।

“तीनपाटन–११ लाम्पाङटार मेरो माइती गाउँ हो । घरबाट निस्कने बेला फोनमा म आउँदैछु, तिमी घर आउने तयारी गरेर बस, भन्नुभयो । म पर्खेर बसिरहेँ । गैरीमा उहाँ दुर्घटनामा पर्नु भएछ,” विमलाले सुनाउनुभयो ।

उहाँका अनुसार तेजबहादुर दुर्घटनामा परेपछि सिन्धुलीबाट उपचारका लागि हेलिकप्टरमा काठमाडौँको हेम्स अस्पताल लगियो । त्यहाँ १० दिनमा रु १२ लाखभन्दा बढी खर्च भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल सारियो । त्यहाँ पनि उपचार खर्च महँगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सिन्धुली फर्काइयो । १४ महिनादेखि सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा भर्ना गरेर राखिएको छ । आर्थिक अभावका कारण उपचारमा मात्रै होइन, बिरामीलाई जाउलो खुवाउनसमेत समस्या हुन थालेको विमलाले दुखेसो सुनाउनुभयो ।

विमलाका अनुसार तेजबहादुरको उपचारमा हालसम्म रु ५० लाख बढी खर्च भइसकेको छ । पीडक पक्षले दिने भनी सहमति गरेको उपचार खर्चसमेत पाउन सकेको छैन । गाडी चालक रहेका गाडी धनी शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा बिरामीको उपचारका लागि रु २० लाख दिने सहमति गर्नुभएको थियो । सोही सहमतिबमोजिम दिनुपर्ने रकममध्ये रु पाँच लाख मात्र प्राप्त गरेको र बाँकी रकम नपाएको विमलाले बताउनुभयो ।

उपचारमा लाग्ने खर्च आफूले गर्न सक्ने अवस्था पनि छैन । रु ४५ लाख बढी ऋण भइसकेको छ । ब्याज बढिरहेको छ । तिर्न सक्ने आधार छैन । साहुले ऋण लिएको पैसा फिर्ता दिन दबाब दिन थालेका छन् । “बिरामीलाई एक छिन छोड्न मिल्दैन । यस्तो अवस्थामा रहेका श्रीमान्लाई छोडेर पनि कहाँ जाउँ, के काम गरौँ ?” विमलाले दुखेसो गर्नुभयो ।

पीडकले सहमतिअनुसारको रकम दिन नसकेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले क्षतिपूर्तिको मुद्दा फैसला गर्न सकेको छैन । गाडी धनी तथा चालकसमेत रहेका पहाडी फरार छन् ।

यता, जिल्ला अदालत, सिन्धुलीबाट सवारीबाट अङ्गभङ्ग मुद्दा फैसला भइसकेको छ । उक्त मुद्दामा अदालतले २०८१ असार १२ गते कसुर ठहर गरेको थियो भने असार १९ गते सजाय तोकेको छ । न्यायाधीश रमेश शर्मा पौडेलको इजलासले तीन वर्ष जेल सजाय, रु २० हजार जरिवाना र रु ८०० क्षतिपूर्तिको सजाय तोकेको थियो । उक्त फैसला कार्यान्वयनमा आएको छैन ।
पीडक शेषराज पहाडी दुई महिना २७ दिन मात्र हिरासतमा बस्नुभएको देखिन्छ । अदालतले तोकेको बाँकी सजाय कटान गर्न बाँकी रहेको जिल्ला अदालतले गरेको फैसलामा उल्लेख छ । अदालतबाट सवारी अङ्गभङ्ग मुद्दा फैसला भई सजाय तोकिए पनि मुद्दा चल्दा धरौटीमा छुटेका शेषराज फेरि पक्राउ परेका छैनन् ।

यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेको क्षतिपूर्तिसम्बन्धी मुद्दा चालु अवस्थामा छ । पीडक र पीडितबीच भएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त मुद्दा फैसला गरेको छैन । सहमतिअनुसार तीन किस्तामा पीडित पक्षलाई उपचार खर्च दिने उल्लेख भएको छ । चार महिनाभित्र अर्थात् २०८१ साउनसम्म तीन किस्तामा रकम भुक्तानी गर्नुपर्ने भए पनि हालसम्म उक्त रकम पाउन नसकेको विमलाले गुनासो गर्नुभयो ।

गत वैशाखमा उपचार खर्च दिलाइदिन, दोषीलाई कारबाही गर्न र पीडितलाई न्यायको माग गर्दै विमला बिरामी श्रीमान्सहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बस्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले पीडित पक्षलाई शान्त गराउँदै पीडकको खोजी भइरहेको बताउनुभयो । चाँडै न्याय दिलाउनेछौँ भन्ने सम्बन्धित निकायको आश्वासनको प्रतीक्षामा विमला बस्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित