पढ्न करिब 2 मिनेट लाग्छ

एकजना महिलाको पेटभित्र २६ किलोको मासु पलायो भने अवस्था के होला ? अण्डासयमा पलाएको २६ किलोको फोका अर्थात् सिस्ट शल्यक्रिया गरेर निकालेपछि एकजना महिलाको तौल नै एक तिहाइले घटेको छ । उनको पेटमा रहेको त्यो डल्लोको तौल सातवटा नवजात शिशु जत्तिकै हुन आउँछ ।

किली फावेलको पेट बढ्दै गयो । पेट बढ्दै गएपछि उनले गर्भ परीक्षण गराइन् । तर रिजल्ट नेगेटिभ आयो । पेट यसरी बढ्दै थियो कि गर्भ परीक्षणको नतिजा नेगेटिभ आएको भएपनि त्यसलाई पत्याउन डाक्टरहरुलाई पनि हम्मे पर्यो । उनी गर्भवती नै भएको तर गर्भ जाँच्ने साधनले धोका दिएको हुनसक्ने डाक्टरहरुको प्रारम्भिक अनुमान थियो ।

२८ वर्षकी कीलीलाई चिन्ने मान्छेहरुले पनि डेलिभरी डेट सोधेर हैरान बनाउँथे । उनले आफू मोटाएर यस्तो भएको भनेर भन्दा पत्याउने कोही भएनन् ।

बेलायतको स्वान्सी सहरमा बस्ने कीलीको पेट सन् २०१४ बाट बढ्न सुरु गरेको थियो ।

उनी आफ्नो पार्टनर जेमी गिब्बिनसँग बस्दै आएकी थिइन् । पेट बढ्दै जाँदा कतै गर्भ रह्यो कि भनेर उनीहरुले घरमै परीक्षण गरे । तर नतिजा नेगेटिभ थियो ।

उनले सन् २०१६ मा बल्ल डाक्टरलाई देखाइन् । डाक्टरले पनि सुरुमा गर्भ परीक्षण गर्यो । नतिजा नेगेटिभ निस्कियो । तर पेटको आकार प्रकार सबै हेरेपछि डाक्टरले पनि अनुमान लगायो कि उनी गर्भवती नै हुन् ।

आफूलाई हेर्दा जो कोहीले पनि नौ महिनाको गर्भ पुगिसकेको लख काट्ने गरेको उनी बताउँछिन् ।

अन्ततः गत वर्षको जनवरीमा डाक्टरले उनलाई अल्ट्रासाउण्डका लागि रिफर गरे ।

पेटको अल्ट्रासाउण्ड गर्दा स्क्रिनमा रित्तो देखिएपछि रेडियोलोजिस्ट एकाएक आत्तिएको उनी अहिले पनि झल्झल्ती सम्झिन्छिन् ।

अल्ट्रासाउण्डको ह्याण्डिल पेटमा यत्रतत्र दौडाउँदा पनि मेसिनले केही फेला पारेन । कतै मेसिनै बिग्रियो भने रेडियोलोजिस्टले हेरिन् । तर त्यस्तो थिएन । डाक्टर त्यसरी आत्तिएको देखेपछि उनी डराइन् । त्यसपछि उनलाई इमर्जेन्सी सिटी स्क्यानमा पठाइयो । बल्ल उनको पेटमा तरल पदार्थ भरिएको बडेमाको डल्लो भएको पत्ता लाग्यो ।

अन्ततः गत वर्ष मार्चमा उनको पेटको शल्यक्रिया गरी उक्त सिस्ट निकालियो । त्यो सिस्टको कूल वजन २६ किलो थियो । आफ्नो पेटभित्रको त्यो अजंगको फोका निकालेपछि उनलाई सुरुमा त विश्वास नै लागेन कि त्यस्तो बोकेर पनि आफु बाँचिरहेकै थिएँ भनेर ।

अहिले उनको पेटमा शल्यक्रियाको ठूलो दाग छ । तर, उनी गर्भाधारणका लागि भने सक्षम रहेको डाक्टरहरुले बताएका छन् ।

बीबीसी