स्याङ्जामा डढेलोले खायो ६२ वन

Posted on: 21 Apr, 2023

वैशाख ८, वालिङ | सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ ।

अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला÷फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरुवा÷हरिनासका पाँच, गल्याङ÷कालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको बन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिनुभयो । एघार वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक÷एक सब डिभिजन रहेका छन् । आँधीखोला र फेदीखोला, बिरुवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक÷एकवटा सब डिभिजन रहेका छन् ।

उहाँका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिकाअन्तर्गतका वन क्षेत्र जोखिममा रहेका छन् । कार्यालयले सब डिभिजनअन्तर्गत वन क्षेत्रहरुको जोखिम मूल्याङ्कन गरी सोहीअनुसार सम्भावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ । पुतलीबजारका कूल २६ वन डढेलोको जोखिममा छन् । वालिङका २५, चापाकोटका २२, भिरकोटका १५, बिरुवा÷हरिनासका १२, अर्जुनचौपारिका १०, गल्याङ÷कालीगण्डकीका १०, आँधीखोला÷फेदीखोलाका आठ गरी कूल एक सय २८ वन जोखिममा परेका छन् । तीमध्ये झन्डै आधा वनमा डढेलो लागिसकेको छ । बैसठ्ठी वटा वनमा डढेलो लाग्दा झन्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन अधिकृत गल्छौडीँले बताउनुभयो ।

“डढेलो लाग्न सक्ने सम्भावित जोखिमका वन क्षेत्रहरु पहिचान गरी सरोकारवालाहरुबीच चेतनामूलक कार्यक्रम गरेका थियौँ”, उहाँले भन्नुभयो, “सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलोका कारण वनजङ्गल, वन्यजन्तु र जडीबुटी साथै पानीका स्रोतहरुमा पनि असर पारेको छ ।” डढेलोको सम्भावित जोखिम भएका ठाउँहरुमा समन्वयात्मक कार्यक्रमहरु, डढेलो सप्ताह, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई उपकरणहरु उपलब्ध गराइएको डिभिजन वन अधिकृत गल्छौडीले बताउनुभयो । वनमा जानीजानी वा दुर्घटनाका कारणले डढेलो लाग्ने गरेको छ । देशैभरि झन्डै ६४ प्रतिशत आगलागी जानीजानी, ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, रु ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । वनको छेउछाउमा रहेका घर तथा खेतबारी भएका मानिसले झारपात पोल्दा पनि आगलागी हुने गरेको छ । जङ्गली जनावरहरु बाघ, बाँदर, मृग, मुसा, खरायो, दुम्सीलगायत जनावरबाट खेतीबाली जोगाउन पनि आगो लगाउने गरेको देखिन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई ठूलो क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरु पोलिएर जिल्लाका धेरै बस्तीहरुमा खानेपानीको हाहाकार नै भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!