अनलाइनकी प्रेमिका मिल्ने साथीकी श्रीमती भएको थाहा पाएपछि...

Posted on: 11 Apr, 2023

एजेन्सी | अनलाइन प्रेमिकासँग चिनजान गराउने साथीकी श्रीमतीले नै आफूलाई पछिल्लो एक वर्षदेखि झुक्क्याइरहेको थाहा पाएपछि एक व्यक्ति विक्षिप्त बनेका छन् ।

चीनको हेनान प्रान्तस्थित छुचाङ भन्ने स्थानका अधबैँसे झाउले आफ्नै परिवार सुरु गर्नका लागि म्यानमारमा  खरबुजाको खेती गरेर पैसा जम्मा गरिरहेका थिए । उनी म्यानमार गएको धेरै समय भइसकेको थियो तर आफ्ना मिल्ने साथी जियाओ लीसँग निरन्तर सम्पर्कमा हुन्थे । उनले एक दिन कुराकानीको क्रममा साथीलाई आफ्नो व्यापार राम्रै चलिरहेको र अब राम्रो महिला साथीको खोजीमा रहेको बताए । लीले पनि आफ्नी श्रीमतीको एकल जीवन बिताइरहेकी एक जना साथी भएको र चाहेको खण्डमा दुईजनाबीच चिनजान गराउन सकिने बताए । 

झाउ फलफूल खेतीका लागि विदेशमा भएकोले अनलाइन डेटिङको विकल्प थिएन । कुराकानीले राम्रै मोड लियो । तत्काल ती दुई जना प्रेममा परे । चीन नफर्किएसम्म यी दुईले आफ्नो सम्बन्धलाई अनलाइनबाट नै अघि बढाउने सहमति गरे ।


अनलाइन डेटिङ गरेको तीन महिनापछि झाउकी अनलाइन प्रेमिकाले दाइको दुर्घटना भएकोले तत्कालका लागि ७३० डलर उपचार खर्च चाहिएको बताइन् । धेरै रकम होइन भन्ने सोचेर झाउले उनलाई पैसा पठाइदिए तर त्यसको केही हप्तापछि उनले पुनः बुवा बिरामी भएको भन्दै पैसा मागिन् । यसरी उनले एक वर्षको अवधिमा जम्मा जम्मी ११,६५० डलर पठाए ।

सन् २०२३ को सुरुवात तिर झाउले आफ्ना साथी जियाओ लीलाई आफ्नो प्रेम सम्बन्ध निकै राम्रो चलिरहेको र प्रेमिकालाई भेट्न र सम्भवतः विवाह नै गर्नका लागि उनी चीन फर्किन लागेको बताए । ली त्यति बेला खुसी नै भए । तर करिब एक महिना अघि लीले आफ्ना साथीलाई फोन गरेर सायद उनको प्रेमिका अस्तित्वमा नै नभएको र सम्भवतः उनले उनकै श्रीमतीसँग डेटिङ गरिरहेको भन्दै मनको कुरा पोखे ।

‘सायद तिमी ठगिएका छौ, तिम्री प्रेमिका मेरी श्रीमती हो !’ लीले फोनमार्फत भने । चीनको टिकटक अकाउन्ट डोउयिनमा श्रीमतीले ढाँटिरहेको कुराको प्रमाणसमेत भएको लीले बताए ।

सुरुमा त झाउले यो कुरा पत्याउनै सकेनन् तर जब उनले आफ्नी अनलाइन प्रेमिकालाई सम्पर्क गरे र यसबारे सोधे, उनले वास्तविकता बताउन हिचकिचाइनन् जसले ली सही छन् भन्ने कुरामा उनी विश्वस्त भए । उनले यसबारे प्रहरी प्रशासनलाई बताइदिने चेतावनी दिए तर मिल्ने साथीले श्रीमतीले लिएको पैसा दिने बाचा गर्दै यस्तो नगर्न आग्रह गरे । पछि लीले उक्त पैसा फिर्ता गर्न नसकेपछि उनले यसबारे प्रशासनलाई जानकारी दिए । त्यसपछि यो खबर भाइरल भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!