नेपालमा लुकेको भनिएका भारतीय ‘डन’ असदको युपी प्रहरीद्वारा ‘इन्काउन्टर’

Posted on: 13 Apr, 2023

चैत ३०, काठमाडौँ | नेपालमा लुकेर बसेको भनिएका भारतीय ‘ग्याङस्टार’ अतीक अहमदका छोरा असद र उनका सुटर गुलाम मोहम्मदको उत्तर प्रदेश (युपी) प्रहरीले ‘इनकाउन्टर’ गरेको छ। 

उमेश पालको हत्या अभियोगमा युपी सरकारले डेढ महिनादेखि उनीहरूको खोजी गरेको थियो। सीमा जोडिएका कारण यी दुवै भागेर नेपाल प्रवेश गरेको यसअघि भारतीय अखबारहरूले जनाएका थिए। 

युपी सरकारले दुवैको सूचना दिने व्यक्तिलाई ५–५ लाख रुपैयाँ इनाम घोषणा पनि गरेको थियो। २४ फेब्रुअरीमा प्रयागराजमा उमेश पालको हत्या भएपछि सीसीटिभी फुटेजमा अतीक मोहम्मदका छोरा असद गोली हान्दै गरेको अवस्थामा कैद भएका थिए। 

हत्या विरोधमा मुख्यमन्त्री योगी आदित्यनाथ सरकारविरूद्ध आक्रोश व्यक्त भएको थियो। योगी आदित्यनाथ युपीको मुख्यमन्त्री नियुक्त भएयता प्रदेशलाई ‘गुण्डाराज’मुक्त गर्न क्रियाशील छन् भने उमेश पाल हत्याकाण्डले उनको तीब्र आलोचना भएको थियो। 

मुख्यमन्त्री योगीले युपीको संसद् भवनमा उमेश पालको हत्यामा जोडिएका मानिसको तुरुन्त सफाया गर्ने भन्दै प्रहरीलाई विशेष निर्देशन दिएका थिए। 

बिहीबार झाँसीमा उनीहरूको ‘इन्काउन्टर’ भएको प्रहरीले बताएको छ। डीआईजी अनन्त देव तिवारी भन्छन्, ‘असद र मकसुदलाई हाम्रो टोलीले मारेको हो। उनीहरूबाट पिस्तोल, रिभल्वर र विदेशी हतियार बरामद भएको छ।’

उमेश पालको आमाले आफ्नो छोरालाई दिनदहाडै मार्ने व्यक्तिको ‘इन्काउन्टर’को खबरले आफूलाई शान्ति प्राप्त भएको बताएकी छिन्। 

छोराको इन्काउन्टर हुँदा प्रयागराज अदालतमा अतीक अहमदलाई छोड्ने विषयमा बहस चलिरहेको थियो। अतीकलाई मंगलबार गुजरातको साबरमती जेलबाट प्रयागराज अदालत ल्याएको थियो। उनीविरूद्ध हत्या, फिरौति लगायत थुप्रै मुद्दा दर्ता भएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!