काठमाडौँ | मेक्सिकोमा उडिरहेको विमान अपहरण गर्न खोज्ने एक ३१ वर्षीय व्यक्ति पक्राउ परेका छन्। आन्तरिक उडानको सो विमानलाई ती व्यक्तिले आइतबार बिहान अपहरण गर्ने कोसिस गरेका थिए।
सो विमान वोलारिस एयरलाइन्सको भएको बताइएको छ। ती व्यक्तिले सो विमानलाई अमेरिकातर्फ लैजान खोजेका थिए। अधिकारीहरूले उनको नाम मारियो एन भनेका छन्।
सो विमान मेक्सिकोको लियोनबाट तिउआनातर्फ गइरहेको थियो। अचानक ती यात्रुले विमान परिचारिकालाई आक्रमण गरेर ककपिटमा प्रवेश गर्न खोजेका थिए।
विमानलाई तत्कालै ग्वादालयारातर्फ लगिएको थियो। अवतरण लगत्तै सुरक्षाकर्मीले उनलाई पक्रेका छन्।
उनले यसरी विमान अपहरणको कोसिस गर्नुको कारण खुलेको छैन। यद्यपि, ती व्यक्तिका कुनै नातेदार अपहरणमा परेको र विमानमा चढ्नुअघि उनलाई तिउआनातर्फ गए ज्यानमार्ने धम्की आएको अधिकारीहरूले बताएका छन्।
ती व्यक्ति पत्नी र दुई सन्तानसहित विमानमा सवार थिए। उनी पक्राउ परेपछि विमानलाई सुरक्षित गन्तव्यतर्फ लगिएको थियो।