एजेन्सी | हमासका एक वरिष्ठ नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्न चेतावनी दिएपछि गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’ बताएका छन् ।
‘ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ, जसलाई दुवै पक्षले सम्मान गर्नुपर्दछ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो’, हमासका प्रवक्ता सामी अबु जुहरीले भनेका छन्, ‘धम्कीको भाषाको कुनै मूल्य छैन । यसले मामिलालाई थप जटिल बनाउँछ ।’
१९ जनवरीदेखि लागू गरिएको युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी चलेको लडाइँलाई धेरै हदसम्म रोकेको थियो । इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको सट्टामा पाँच समूहका इजरायली बन्धकको मुक्त भएका थिए । तर, गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।
शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै ट्रम्पले सोमबार थप दबाब दिएका थिए । ‘मेरो विचारमा यदि सबै बन्धक शनिबार १२ बजेसम्म । मलाई लाग्छ यो उपयुक्त समय हो । फिर्ता गरिएनन् भने म भन्छु यसलाई रद्द गर्नुपर्छ र सबै सर्तहरू समाप्त हुन्छन् र नरक मच्चिन दिनुपर्छ’, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने ।
युद्धविराम सम्झौताअनुसार सम्झौताको चालू ४२ दिनको पहिलो चरणमा चरणबद्धरूपमा रिहाइ हुनुपर्ने भनिएको छ ।