काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानविरुद्धको ‘अपरेसन सिन्दूर’ ट्रेलर मात्र भएको र जारी रहेको बताएका छन्। गुजरातको भुज एयरबेसमा सैनिकहरूलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले अपरेसन सिन्दूर अझै नसकिएको बताएका हुन्।
उनले भने, ‘अपरेसन सिन्दूर अझै सकिएको छैन। जे भयो त्यो केवल ट्रेलर थियो। सही समय आएपछि हामी संसारलाई पूरा फिल्म देखाउनेछौँ।’ रक्षामन्त्री सिंहले भारतीय सैनिकहरूले अपरेसन सिन्दूरमा चमत्कारी गरेको भन्दै भारतलाई विश्वमै गौरवको पात्र बनाएको बताए।
यस क्रममा उनले ‘अपरेसन सिन्दूर’ नाम प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको पनि बताए। उनले भने, ‘अब यो स्पष्ट भएको छ- आतंकवाद र पाकिस्तान सरकारबीच घनिष्ठ सम्बन्ध छ। यस अवस्थामा त्यहाँ आणविक हतियार छन् भने ती आतंकवादी तत्त्वका हातमा पर्ने सम्भावना नकार्न सकिँदैन।’ राजनाथ सिंहले थपे, ‘यो भारतका लागि मात्र नभई सम्पूर्ण विश्व र पाकिस्तानका आम जनताका लागि पनि गम्भीर खतरा हो।’
गत अप्रिल २२ तारिख जम्मु-कश्मीरको पहलगाममा २६ जनाको हत्या गर्दै भएको आतंकवादी हमलापछि एकअर्काविरुद्ध सैन्य आक्रमण गरिरहेका भारत र पाकिस्तानबीच मे १० साँझदेखि युद्धविराम सहमति भएको छ। तर त्यसयता पनि दुई देशबीचको टकराब साम्य भइसकेको छैन।