काठमाडौँ । क्यानडाको कानानास्किसमा सम्पन्न जी–सेभेन (जी ७) शिखर बैठकले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्न साझा प्रतिबद्धता व्यक्त गर्दै इजरायलको पक्षमा स्पष्ट समर्थन जनाएको छ। बैठकले इरानमाथि क्षेत्रीय अस्थिरता र आतंकको मूल स्रोत भएको आरोप लगाएको छ।
मुलुकहरूबीच इरान–इजरायल द्वन्द्वको सन्दर्भमा विशेष छलफल गरिएको बैठकमा इजरायललाई आत्मरक्षा गर्ने पूर्ण अधिकार रहेको औपचारिक रुपमा उल्लेख गरिएको छ।
जी–सेभेन सदस्य राष्ट्रहरूले,” हामीले लगातार भनिरहेका छौं कि इरानले परमाणु हतियार राख्न पाउनुहुँदैन।” साथै, इरान–इजरायल संघर्षले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति तथा आर्थिक स्थायित्वमा पार्न सक्ने असरबारे चासो व्यक्त गर्दै जी–सेभेन सदस्य राष्ट्रहरूले सहकार्यका माध्यमबाट बजारमा स्थिरता कायम राख्ने प्रतिवद्धता जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बैठक नसकिँदै अमेरिका फर्किएका थिए। उनी आफूले लामो समयदेखि इरानको परमाणु हतियारबारे चेतावनी दिँदै आएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “मैले जुन सम्झौतामा हस्ताक्षर गर्न भनेको थिएँ, त्यसमा इरानले हस्ताक्षर गर्नुपथ्र्यो। तर अहिले मानव जीवनको बर्बादी हुनु लज्जास्पद छ। सिधा शब्दमा भन्नुपर्दा– इरानसँग परमाणु हतियार हुनु हुँदैन। मैले यो पटक–पटक भनेको छु।”
साथै उनले तेहरान ‘तत्काल खाली गर्नुपर्ने’ अभिव्यक्ति दिँदै यो विषय अब ढिला गर्न नहुने चेतावनी पनि दिएका छन्।