काठमाडौँ । ब्राजिलको एउटा सानो शहरमा आयोजित ८ किलोमिटर दौड प्रतियोगितामा चप्पल लगाएर भाग लिएका एक बेघर युवकको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको जीवन नै परिवर्तनको मोडमा पुगेको छ।
३१ वर्षीय इसाके दोस सान्टस पिन्हो नामक युवकले कुनै दर्ता वा पूर्वतयारी नगरी अचानक प्रतियोगितामा भाग लिएका थिए। उनले मात्र साधारण चप्पल लगाएर अन्य धावकसँगै दौड सुरु गरे र अन्ततः दौड पूरा गरेर पदक समेत जिते।
उनी प्रतियोगिता सुरु हुनु अघि सामान्य अवस्थामा थिएनन्। स्थानीय मिडियाका अनुसार उनी नशामा थिए र अचानक भिड देखेर प्रतियोगितामा सामेल हुने निर्णय गरेका थिए। तर, उनको अदम्य साहस र दृढताले सबैलाई आश्चर्यचकित बनायो।
भिडियो भाइरल, नाम “इसाके द रनर”
प्रतियोगिताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई “इसाके द रनर” भनेर चिनिन थालिएको छ। लाखौं मानिसहरूले उनको दृढता र आत्मबलको प्रशंसा गरेका छन्।
सहयोग र नयाँ सुरुवात
भाइरल भएपछि इसाकेलाई स्थानीय समुदायले ठूलो सहयोग गर्न थालेका छन्। खेलप्रेमीहरूले उनलाई नयाँ रनिङ जुत्ता, कपडा र प्रशिक्षण सामग्री उपलब्ध गराएका छन्। खेलप्रेमीहरूलेले उनलाई प्रशिक्षण दिन प्रस्ताव गरेका छन्।
स्थानीय निकायका अधिकारीहरूले भविष्यका दौड प्रतियोगितामा औपचारिक रूपमा सहभागी हुन अवसर दिने घोषणा गरेका छन्। यति मात्र होइन, सामाजिक अभियन्ता र सहयोगीहरूले उनको लागि आवासको व्यवस्था गर्न थालेका छन्।
एस्टेला लारिज्जेरी नामकी एक महिलाले उनका लागि स्थायी घर निर्माण गर्न सहयोग जुटाउन अभियान सुरु गरेकी छिन्।
इसाकेको भनाइ –इसाकेलाई पत्रकारहरूले सोध्दा उनले भने,“मलाई महसुस भयो—औषधि वा नशाको सट्टा दौड गर्दा जीवन बदलिन्छ। मैले अब नयाँ बाटो रोजेको छु, र अझ परिवर्तन गर्न चाहन्छु।”
साधारण चप्पल लगाएर सुरु भएको एउटा अनौठो दौडले ३१ वर्षीय बेघर युवकको जीवनमा अभूतपूर्व परिवर्तन ल्याइदिएको छ। अब उनी भविष्यमा एक पेशेवर धावक बन्ने सपना देखिरहेका छन्।