२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण

१० कार्तिक २०८२, आईतवार १५:२४

जापानको अन्तरिक्ष एजेन्सीले आइतबार आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप एच–३ रकेटको सफल प्रक्षेपण गरेको छ । यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आपूर्ति पुर्‍याउने पहिलो मिसनका लागि नवीनतम मानव रहित कार्गो अन्तरिक्ष यान एचटिभी–एक्स–१ बोकेको छ ।

जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी–एक्स–१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट गरिएको प्रक्षेपणको करिब १४ मिनेटपछि रकेट लक्षित कक्षामा प्रवेश गरेको जनाएको छ । यानलाई योजनाबद्ध रूपमा अलग गरी निर्धारित कक्षामा स्थिर राखिएको र यदि सबै कुरा योजना अनुसार भयो भने केही दिनभित्रै आइएसएसमा पुग्ने अपेक्षा गरिएको छ ।

हाल आइएसएसमा कार्यरत जापानी अन्तरिक्ष यात्री किमिया युईले यसलाई बिहीबार बिहान रोबोटिक हातद्वारा समात्ने तयारी गरिरहनुभएको छ ।

एचटिभी–एक्स, जाक्साको अघिल्लो मानव रहित एच–२ ट्रान्सफर भेहिकल (कनोटोरी वा ‘स्टर्क’) को उत्तराधिकारी हो । यसले सन् २००९ देखि सन् २०२० सम्म आइएसएसमा नौ सफल मिसन पूरा गरेको थियो । नयाँ कार्गो यानले अघिल्लाभन्दा ठूलो पेलोड बोक्न सक्षम छ र कम तापक्रममा भण्डारण आवश्यक पर्ने प्रयोगशाला नमूनाहरू समेत सुरक्षित रूपमा पठाउन सक्छ ।

यो अन्तरिक्ष यान आइएसएसमा छ महिनासम्म जडान रहन र आवश्यक आपूर्ति पुर्‍याएपछि स्टेसनबाट फोहोर पुनः ल्याउन डिजाइन गरिएको छ । मिसन पूरा भएपछि यसले करिब तीन महिनासम्म कक्षीय उडानमा रहँदै प्राविधिक अनुसन्धान गर्नेछ ।

आइतबारको सफल प्रक्षेपणले एच–३ रकेटको सबैभन्दा शक्तिशाली संस्करणको डेब्यू पनि सङ्केत गरेको छ, जसमा चारवटा बुस्टर र ठूलो फेयरिङ (पेलोड कम्पार्टमेन्ट) प्रयोग गरिएको छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले यस प्रक्षेपणलाई ‘अन्तरिक्ष आपूर्तिमा जापानको स्वतन्त्र क्षमताको प्रतीकात्मक ठूलो उपलब्धि’ भन्दै ‘स्वायत्त अन्तरिक्ष गतिविधिको ठोस आधार’ का रूपमा वर्णन गर्नुभएको छ ।

एच–३ रकेटको विकास तथा सञ्चालनमा जिम्मेवारी वहन गर्ने मित्सुबिसी हेभी इन्डस्ट्रिजका अन्तरिक्ष व्यवसाय विभाग प्रमुख इवाओ इगाराशीले जापानले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै समयमै पेलोड डेलिभरी गर्ने आफ्नो विश्वसनीयता प्रमाणित गरेको बताउनुभयो । उहाँका अनुसार कम्पनीले आगामी वर्षहरूमा आफ्नो प्रक्षेपण सुविधा विस्तार गर्ने योजना बनाएको छ ।

एच–३ रकेटले हालै मात्र अन्तिम उडान सम्पन्न गरेको जापानको पुरानो मुख्य एच–२ए रकेटलाई प्रतिस्थापन गरेको हो । नयाँ फ्ल्यागशिप मोडेल विश्वव्यापी अन्तरिक्ष बजारमा अधिक लागत–प्रतिस्पर्धी बन्नका लागि डिजाइन गरिएको हो । सन् २०२३ मा पहिलो प्रयास असफल भएपछि एच–३ ले लगातार छ सफल उडान पूरा गरेको छ ।

जापानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई राष्ट्रिय सुरक्षाको प्रमुख आधार मान्दै स्थिर र व्यावसायिक रूपमा प्रतिस्पर्धी अन्तरिक्ष यातायात क्षमताको विकासलाई दीर्घकालीन प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’