२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

२ मंसिर २०८२, सोमबार १३:४३

काठमाडौँ | पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।

बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो । यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उहाँले बताउनुभयो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गर्नुभयो । बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उहाँका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ ।

पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय पनि भएको सदस्यसचिव जोशीले बताउनुभयो । पशुपतिनाथको मूल मन्दिर परिसरभित्र भक्तजनको घुइँचो हुने भएकाले कुनै पनि किसिमका निःशुल्क सामग्री वितरण गर्नेलाई स्थान दिइने छैन ।

बत्ती बाली बस्ने भक्तजनका लागि कोर क्षेत्र, कैलाश, भकुण्टोल, वनकाली, हंसमण्डप, चारशिवालय, अन्य खाली स्थानहरूमा पाल, सायर टाँग्ने व्यवस्थाका लागि नेपाली सेनालाई अनुरोध गरिएको कोषले जनाएको छ । नपुग भएका अन्य स्थानमा कोषले पाल, सायरको व्यवस्था गर्नेछ ।

पशुपति क्षेत्रको कोर क्षेत्रस्थित वत्सलेश्वरी डबलीमा शथ्या, चिकित्सक, एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी सेवा प्रदान गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ । अन्य संस्थाले स्वास्थ्य शिविर राख्न स्थान माग गरेमा कोर क्षेत्र बाहिर राख्न दिने निर्णय भएको निमित्त सदस्यसचिव जोशीले बताउनुभयो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

सत्ययुगमा वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती यो पर्वसँग जोडिएको छ ।

यस्तो महत्त्व बोकेको मेलाका लागि कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था गर्नेछ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरिएको जनाइएको छ ।

बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गरिने निर्णय पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको छ ।

दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेका लागि मङ्गलबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नामदर्ता गरेर बत्ती बाल्नका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । मङ्गलबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।

बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । कैलाश चौरमा महिला र पुरुषका छुट्टाछुट्टै निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको छ । मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई अनुरोध गरिएको छ ।

मेला अवधिभर गौशालाबाट भुवनेश्वरी मन्दिरअघिसम्म मात्र पसल राख्न दिइने निर्णय भएको सदस्यसचिव जोशीको भनाइ छ । सुरक्षा निकायको सहयोग लिई कोषले पसलको व्यवस्थापन गर्नेछ । कैलाश चौरमा पसल राख्न नदिने, पाल टाँगेर बत्ती बाल्नका लागि ठाउँ उपलब्ध गराइने छ । कैलाश चौरका कुनाकुनामा भने निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, पाल सायर व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी भइरहेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली बत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवी परिचालनलगायत तयारी पनि अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।

मङ्सिर ३ गते बुधबार शतबीज छर्ने दिन पशुपतिनाथ र वासुकीनाथ मन्दिरमा विशेष पूजा नहुने भएको छ । शतबीज छर्ने भक्तजनको घुइँचो हुने भएकाले यस्तो निर्णय गराएको जानकारी पनि उहाँले दिनुभयो । बाला चतुर्दशी पर्वमा स्वयंसेवा गर्न चाहने संस्थालाई कोषको निर्देशनअनुसार मात्र गर्न दिइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने