२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

२०८२, ९ पुष बुधबार १३:०२

टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो ।

लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीहरूले जानकारी दिएका छन् । दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अङ्कारामा रहेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद अली अहमद अल–हदद र चार जना अन्य अधिकारीको निधन भएको पुष्टि गर्नुभएको छ । उहाँले प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा भएको यस घटनालाई ‘दुखद दुर्घटना’ को संज्ञा दिँदै यसलाई लिबियाका लागि ‘ठूलो क्षति’ भएको उल्लेख गर्नुभएको छ ।

जनरल अल–हदद पश्चिमी लिबियाका शीर्ष सैन्य कमान्डर हुनुहुन्थ्यो । संयुक्त राष्ट्रसङ्घको पहलमा विभाजित लिबियाली सेनालाई एकताबद्ध गर्ने प्रयासहरूमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने अन्य चार अधिकारीमा लिबियाको स्थल सेनाका प्रमुख ब्रिगेडियर जनरल अल–फितोरी घ्राइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख जनरल महमुद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब तथा चिफ अफ स्टाफको कार्यालयमा कार्यरत सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब रहनुभएको छ । तीन जना चालक दलका सदस्यको पहिचान भने तत्काल खुल्न सकेको छैन ।

टर्कीका अधिकारीहरूका अनुसार फाल्कन ५० प्रकारको व्यापारिक जेटको भग्नावशेष अङ्काराबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने हेमानाको केसिक्कवाक गाउँ नजिकै फेला परेको छ । यसअघि मङ्गलबार साँझ अङ्कारास्थित एसेनबोगा विमानस्थलबाट उडान भरेपछि लिबिया फर्कने क्रममा विमानसँग सम्पर्क विच्छेद भएको टर्कीका हवाई यातायात नियन्त्रकहरूले जानकारी दिएका थिए ।

टर्कीका गृहमन्त्री अली येरलिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विमान साँझ ८ः३० बजे उडेको र करिब ४० मिनेटपछि सम्पर्क गुमेको बताउनुभएको छ । उहाँका अनुसार सबै सञ्चार बन्द हुनु अघि विमानले हेमाना नजिकै आपतकालीन अवतरणको सङ्केत पठाएको थियो ।

टर्कीको राष्ट्रपतिको सञ्चार विभागका प्रमुख बुरहानेटिन डुरानले विमानले विद्युतीय त्रुटि भएको जानकारी हवाई यातायात नियन्त्रणलाई गराएको र आपतकालीन अवतरणको अनुरोध गरेको बताउनुभयो । त्यसपछि विमानलाई एसेनबोगा विमानस्थलमै फर्काउन निर्देशन दिइएको र अवतरणको तयारी थालिएको उहाँले जानकारी दिनुभयो । तर आपतकालीन अवतरणका क्रममा विमान राडारबाट हराएको उहाँले उल्लेख गर्नुभयो ।

स्थानीय टेलिभिजन च्यानलहरूले प्रसारण गरेको सुरक्षा क्यामेराको दृश्यमा हेमानाको रात्रि आकाश एकाएक विस्फोटले उज्यालो भएको देखिएको छ ।

अङ्कारामा रहँदा जनरल अल–हददले टर्कीका रक्षामन्त्री यासर गुलेर तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो । दुर्घटनापछि अङ्काराको विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो र धेरै उडानहरू अन्यत्र मोडिएका थिए ।

टर्कीको न्याय मन्त्रालयका अनुसार दुर्घटनाको अनुसन्धानका लागि चार जना अभियोजक तोकिएका छन्, जुन यस्ता घटनामा सामान्य प्रक्रिया मानिन्छ । लिबियाली सरकारले पनि दुर्घटनाको छानबिनमा टर्कीका अधिकारीहरूसँग सहकार्य गर्न अङ्कारामा एक टोली पठाउने जनाएको छ ।

सन् २०११ को विद्रोहपछि लामो समय शासन गरेका तानाशाह मुअम्मर गद्दाफीको पतन र मृत्यु भएयता लिबिया गहिरो अराजकतामा फस्दै आएको छ । देश पूर्व र पश्चिममा आधारित प्रतिस्पर्धी प्रशासन, सशस्त्र मिलिसिया र विभिन्न विदेशी शक्तिको समर्थनमा विभाजित रहँदै आएको छ ।

टर्कीले पश्चिमी लिबियास्थित सरकारसँग गठबन्धन कायम राखेको छ भने पछिल्लो समय पूर्वी क्षेत्रमा आधारित सरकारसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास थालेको छ । टर्कीको संसद्ले लिबियामा तैनाथ टर्की सेनाको कार्यकाल दुई वर्षका लागि विस्तार गर्ने स्वीकृति दिएको भोलिपल्टै लिबियाली प्रतिनिधिमण्डल अङ्कारा पुगेको थियो । सन् २०१९ मा अङ्कारा र त्रिपोलीस्थित सरकारबीच भएको सुरक्षा तथा सैन्य सहयोग सम्झौतापछि टर्कीले लिबियामा सेना तैनाथ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो