२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

२०८२, ११ पुष शुक्रबार १६:३१

म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदैछ । तर आलोचकहरूका अनुसार यो चुनावले सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि कमजोर बनेको लोकतन्त्र पुनःस्थापना गर्ने छैन भने सैन्य शासनले निम्त्याएको गहिरो गृहयुद्धको समाधान पनि गर्ने छैन ।

चार वर्षअघि सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि सुरु भएको सैन्य शासनलाई वैधानिकता दिन बहुदलीय लोकतन्त्रमा फर्किएको देखाउन यो चुनावको तयारी गरिएको हो । तर उक्त अधिग्रहणपछि सुरु भएको व्यापक जनआन्दोलन गृहयुद्धमा परिणत भइसकेको छ, जसका कारण धेरै क्षेत्रमा मतदान नै गर्न कठिन भएको छ ।

निर्वाचन तीन चरणमा हुने तय भएको छ । पहिलो चरण आइतबार, दोस्रो जनवरी ११ र तेस्रो जनवरी २५ मा हुनेछ । निरन्तर द्वन्द्वका कारण केही क्षेत्रमा मतदान नहुने जनाइएको छ ।

मानव अधिकार समूह र विपक्षी दलहरूले यो चुनाव स्वतन्त्र र निष्पक्ष नहुने दाबी गर्दै वास्तविक शक्ति सैन्य प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङकै हातमा रहने बताएका छन् । इन्टरनेसनल क्राइसिस ग्रुपका म्यान्मा विश्लेषक रिचर्ड होर्सीले सन् २०२१ को सत्ता कब्जा गर्ने उही सेनाले नै चुनाव सञ्चालन गरिरहेको उल्लेख गर्दै यी निर्वाचनलाई ‘विश्वसनीय नरहेको’ बताउनुभएको छ ।

उहाँका अनुसार सेनाको रणनीति सैन्य समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) लाई जित दिलाई नागरिक शासनजस्तो देखिने तर सेनाको नियन्त्रण कायम रहने व्यवस्था बनाउने हो । यसबाट म्यान्माले क्षेत्रीय सङ्गठन आसियानको शान्ति प्रस्तावअनुसार समावेशी संवादतर्फ अघि बढेको दाबी गर्न सक्नेछ ।

चीन, भारत र थाइल्यान्डजस्ता छिमेकी मुलुकहरूले स्थिरताको नाममा समर्थन जारी राख्न सक्ने विश्लेषकहरूको भनाइ छ । तर पश्चिमी देशहरूले भने सैन्य शासनको प्रजातन्त्रविरोधी कदम र दमनका कारण प्रतिबन्ध कायमै राखेका छन् ।

सैन्य सरकारले सन् २०२१ फेब्रुअरी १ मा सन् २०२० को निर्वाचन अवैध भएको दाबी गर्दै सत्ता लिएको थियो । तर स्वतन्त्र पर्यवेक्षकहरूले त्यतिबेला गम्भीर अनियमितता नदेखिएको बताएका थिए ।

यसपटक ३३० टाउनसिपमध्ये पहिलो चरणमा १०२ सिटमा मतदान हुनेछ । द्वन्द्वका कारण ६५ क्षेत्रमा मतदान हुनेछैन । ५७ दलले उम्मेदवारी दिए पनि अधिकांशले स्थानीय स्तरमै प्रतिस्पर्धा गरिरहेका छन् । नियमका कारण युएसडिपी नयाँ सरकारको नेतृत्वमा आउने सम्भावना बलियो देखिएको छ ।

राष्ट्रिय र प्रादेशिक व्यवस्थापिकाका एक हजारभन्दा बढी सिटका लागि करिब पाँच हजार उम्मेदवार मैदानमा छन् । केन्द्रीय निर्वाचन आयोगले मतदाताको कुल सङ्ख्या सार्वजनिक गरेको छैन, तर सन् २०२० मा तीन करोड ७० लाखभन्दा बढी मतदाता थिए ।

पूर्वनेत्री आङ सान सुकी र उहाँको नेसनल लिग फर डेमोक्रेसी पार्टी यस चुनावमा सहभागी छैनन् । सुकीले हाल राजनीतिक रूपमा प्रेरित आरोपमा २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ र नयाँ सैन्य नियम मान्न अस्वीकार गरेपछि उहाँको पार्टी विघटन गरिएको थियो । अन्य धेरै दलले पनि चुनाव बहिष्कार गरेका छन् ।

यस वर्ष लागू गरिएको कडा निर्वाचन सुरक्षा कानूनले राजनीतिक गतिविधिमा थप प्रतिबन्ध लगाएको छ । पछिल्ला महिनाहरूमा सयौँ व्यक्तिलाई अभिव्यक्ति र अनलाइन गतिविधिका कारण मुद्दा लगाइएको छ ।

यसले सेनासमर्थित दललाई प्रभुत्व जमाउने र मिन आङ ह्लाइङलाई राष्ट्रपतिको पदतर्फ अघि बढाउने वातावरण तयार गरेको विश्लेषकहरू बताउँछन् ।

म्यान्माको द्वन्द्वले गम्भीर मानवीय सङ्कट सिर्जना गरेको छ । स्वतन्त्र संस्थाहरूका अनुसार २२ हजारभन्दा बढी व्यक्ति राजनीतिक कारणले हिरासतमा छन् र सात हजार ६०० भन्दा बढी नागरिक मारिएका छन् । ३६ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले चुनावअघि नै हिंसा, दमन र धम्की बढिरहेको जनाएको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसन्धानकर्ताहरूले चुनावले दोषीहरूलाई झन् बलियो बनाउने डर व्यक्त गरेका छन् । विश्लेषक होर्सीका अनुसार निर्वाचनपछि पनि म्यान्मामा द्वन्द्व झन् चर्किन सक्ने सम्भावना उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी