
इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गर्नुभएको छ, तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिनुभएको छ ।
आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि साइबर आक्रमणदेखि लिएर प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पहरूबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको जानकारी दिनुभयो । “सेनाले सबै कुरा गहिराइमा हेरिरहेको छ र हामीसँग निकै बलिया विकल्पहरू छन्”, उहाँले भन्नुभयो । इरानले प्रतिशोध लिएमा ‘पहिल्यै कहिल्यै नदेखिएको स्तरको जवाफ’ दिने चेतावनी पनि उहाँले दिनुभयो ।
राष्ट्रपति ट्रम्पका अनुसार तेहरानले वार्ताको प्रस्ताव गरेको छ र बैठक तय गर्ने प्रयास भइरहेको छ । तर प्रदर्शनकारीमाथि भइरहेको दमन र मृतकको सङ्ख्या बढिरहेकाले बैठकअघि नै कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । “इरान वार्ता गर्न चाहन्छ”, उहाँले स्पष्ट पार्नुभयो ।
यद्यपि, उक्त बैठक प्रस्तावबारे इरानी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन । यसैबीच, क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाको ठूलो तैनाथी र मध्यपूर्वको सुरक्षा अवस्था पनि ह्वाइट हाउसका लागि प्रमुख चिन्ताको विषय बनेको छ । इरानले चेतावनी दिँदै यदि अमेरिकाले प्रदर्शनकारीहरूको नाममा हस्तक्षेप गर्यो भने अमेरिकी सेना र इजरायल ‘वैध लक्ष्य’ हुने बताएको छ ।
मानव अधिकार कार्यकर्ताहरूका अनुसार पछिल्ला दुई सातामा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ । इरानमा इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको र एसोसिएटेड प्रेसले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानी सरकारले अहिलेसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन ।
विदेशमा रहेका विश्लेषकहरूका अनुसार सूचना अवरोधले सुरक्षा निकायभित्रका कठोर धारलाई थप बल मिलेको आशङ्का गरिएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म राजधानी तेहरान र दोस्रो ठूलो सहर मशहदसहित विभिन्न सहरमा ठूलो सङ्ख्यामा मानिसहरू सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमा आएका भिडियोहरूमा प्रदर्शनकारीहरूले मोबाइल फोनको उज्यालो देखाउँदै नारा लगाएको देखिन्छ ।
इरानी संसद्मा पनि कडा अभिव्यक्ति आएका छन् । प्रभावशाली सांसद मोहम्मद बाघेर कालिबाफले इरानमाथि आक्रमण भएमा इजरायल र यस क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य केन्द्रहरू वैध लक्ष्य हुने चेतावनी दिनुभयो । संसद्मा ‘अमेरिका मूर्दावाद’ भन्ने नारा समेत लागेको राज्य सञ्चारमाध्यमले देखाएका छन् ।
मध्यपूर्वमा अमेरिकी सेनाले आफ्नो तथा सहयोगीहरूको सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । इजरायलले पनि अमेरिका–इरानबीचको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरानसम्बन्धी छलफल गर्नुभएको छ ।
भ्याटिकनमा पोप लियो चौधौँले इरानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै संवाद र शान्तिको आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि प्रदर्शनकारीविरुद्धको हिंसाबाट ‘स्तब्ध’ भएको प्रतिक्रिया दिँदै इरानी अधिकारीहरूलाई संयम अपनाउन र सञ्चार सेवा पुनःस्थापना गर्न आग्रह गर्नुभएको छ ।
डिसेम्बर २८ देखि सुरु भएको यो आन्दोलन इरानी रियालको तीव्र अवमूल्यन र अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्रको विरोधबाट सुरु भई अहिले इस्लामिक शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा रूपान्तरण भएको छ ।