२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

२ माघ २०८२, बिहीबार १५:२६

राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ ।

प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो । यस अवधिमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले इरानको आकाश मार्ग प्रयोग नगरी उत्तर र दक्षिणतर्फ उडान डाइभर्ट गरे । पछि बन्द अवधि समाप्त भएको सङ्केत देखिएको छ र बिहान ७ बजेपछि धेरैजसो आन्तरिक उडानहरू पुनः सञ्चालनमा आएका थिए ।

यसअघि पनि इरानले जुन महिनामा इजरायलसँग भएको १२ दिने युद्ध तथा इजरायल–हमास युद्धका क्रममा इजरायलसँगको गोलीबारीपछि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । तर यसपटक कुनै प्रत्यक्ष सैन्य भिडन्तको स्पष्ट सङ्केत नदेखिए पनि इरान विश्वव्यापी उड्डयनका लागि अत्यन्तै महत्त्वपूर्ण मार्गमा पर्ने भएकाले बन्दको असर तुरुन्तै अन्तर्राष्ट्रिय स्तरमा देखिएको हो ।

“धेरै एयरलाइन्सहरूले पहिले नै आफ्ना सेवाहरू घटाइसकेका वा निलम्बन गरेका छन् र अधिकांश क्यारियरहरूले इरानी हवाई क्षेत्रबाट जोगिन थालेका छन्”, द्वन्द्व क्षेत्र र हवाई यात्रासम्बन्धी जानकारी प्रदान गर्ने वेबसाइट सेफएयरस्पेसले भनेको छ, “यस अवस्थाले थप सुरक्षा वा सैन्य गतिविधिको सङ्केत गर्न सक्छ, जसमा मिसाइल प्रक्षेपण वा हवाई प्रतिरक्षा प्रणालीको गतिविधि बढ्ने जोखिम रहन्छ । यस्तो परिस्थितिले नागरिक विमानलाई गलत रूपमा लक्ष्य ठानिने खतरा पनि बढाउँछ ।”

विगतमा इरानले व्यावसायिक विमानलाई शत्रुतापूर्ण लक्ष्यका रूपमा गलत पहिचान गरेको उदाहरण पनि छ । सन् २०२० मा इरानी हवाई प्रतिरक्षाले युक्रेन इन्टरनेसनल एयरलाइन्सको फ्लाइट पिएस७५२ लाई दुई सतह–देखि–हावा मिसाइल प्रहार गर्दा विमानमा सवार सबै १७६ यात्रु र चालक दलका सदस्यहरूको ज्यान गएको थियो । त्यसबेला इरानले केही दिनसम्म उक्त आरोप अस्वीकार गर्दै पश्चिमी प्रचारको संज्ञा दिएको थियो, तर पछि विमान आफ्नै प्रतिरक्षाले खसालेको स्वीकार गर्न बाध्य भएको थियो ।

यस पटकको हवाई क्षेत्र बन्द कतारमा रहेको एक प्रमुख अमेरिकी सैन्य आधारका केही कर्मचारीहरूलाई खाली गर्न सल्लाह दिइएपछि गरिएको हो । कुवेतस्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारीहरूलाई खाडी क्षेत्रका केही सैन्य आधारहरूमा जान ‘अस्थायी रूपमा रोक्न’ निर्देशन दिएको छ ।

यसैबीच, संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बिहीबार दिउँसो इरानको अवस्थाबारे आपतकालीन बैठक बोलाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिएका अस्पष्ट अभिव्यक्तिहरूले इरानविरुद्ध सम्भावित अमेरिकी कदमबारे अनिश्चितता बढाएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले धेरै विवरण नदिई इरानमा मृत्युदण्डसम्बन्धी योजना रोकिएको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो । एक दिनअघि उहाँले इरानका प्रदर्शनकारीहरूलाई ‘मद्दत आउँदैछ’ भन्दै इस्लामिक गणतन्त्रको घातक दमनको जवाफमा आफ्नो प्रशासनले ‘उचित कदम चाल्ने’ चेतावनी दिनुभएको थियो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने तनाव घटाउने प्रयास गर्दै संयुक्त राज्य अमेरिकालाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ । फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले भन्नुभयो, “मेरो सन्देश स्पष्ट छ—युद्ध र कूटनीतिबीच कूटनीति नै राम्रो बाटो हो । यद्यपि संयुक्त राज्य अमेरिकासँग हाम्रो अनुभव सकारात्मक छैन, तर युद्धभन्दा कूटनीति सधैँ उत्तम हुन्छ ।”

अमेरिका र इरानको स्वरमा आएको यो परिवर्तन इरानी न्यायपालिकाका प्रमुखले हिरासतमा रहेका हजारौँ व्यक्तिहरूलाई छिट्टै सजाय दिन सरकार अघि बढ्नुपर्ने बताएको केही घण्टापछि भएको हो । मानव अधिकारकर्मीहरूले कैदीहरूको फाँसी चाँडै हुनसक्ने गम्भीर चेतावनी दिएका छन् ।

अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीका अनुसार प्रदर्शनका क्रममा सुरक्षाबलको दमनबाट हालसम्म कम्तीमा दुई हजार ६१५ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या दशकौँयताकै सबैभन्दा ठूलो मानवीय क्षति मानिएको छ, जसले सन् १९७९ को इस्लामिक क्रान्तिका बेला देखिएको अराजकतालाई स्मरण गराउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले