३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत

३ माघ २०८२, शुक्रबार १६:२४

विश्वव्यापी स्तरमा देखा परिरहेका नयाँ चुनौतीहरूको पृष्ठभूमिमा चीन र क्यानाडाका शीर्ष नेताहरूले वर्षौंदेखि तनावग्रस्त रहँदै आएको द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता शुक्रबार व्यक्त गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन भ्रमणमा रहनुभएका क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै सम्बन्ध सुधारका लागि आफू सकारात्मक र इच्छुक रहेको बताउनुभयो । उहाँले दक्षिण कोरियामा आयोजित क्षेत्रीय आर्थिक सम्मेलनको साइडलाइनमा गत अक्टोबरमा भएको प्रारम्भिक भेटपछि दुई देशबीच सहयोग पुनःस्थापना तथा पुनःसञ्चालनका विषयमा निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो ।

“गत वर्ष भएको हाम्रो भेटले चीन–क्यानाडा सम्बन्धलाई सुधारको दिशामा नयाँ अध्यायतर्फ उन्मुख गराएको भन्न सकिन्छ”, राष्ट्रपति सी जिनपिङले भन्नुभयो ।

आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो क्यानाडाली प्रधानमन्त्री बन्नुभएका कार्नीले चीनसँगको राम्रो सम्बन्धले हाल ‘गहिरो दबाबमा’ रहेको विश्वव्यापी शासन प्रणालीलाई सुधार गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नयाँ विश्वव्यापी यथार्थअनुसार अनुकूल हुने सम्बन्ध विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि, ऊर्जा र वित्तीय क्षेत्रमा सहकार्य विस्तारका लागि आह्वान गर्नुभयो ।

प्रधानमन्त्री कार्नीले उल्लेख गर्नुभएका ती नयाँ यथार्थहरू मुख्यतः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तथाकथित ‘अमेरिका–पहिलो’ नीतिसँग जोडिएका छन् । उहाँद्वारा लगाइएका भन्सार शुल्कहरूले क्यानाडा र चीन दुवैको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ । बेइजिङमा रहँदा धेरै प्रमुख चिनियाँ कम्पनीहरूसँग भेटघाट गर्नुभएका कार्नीले आफ्नो भ्रमणअघि नै ‘विश्वव्यापी व्यापार अवरोधको समय’ मा अमेरिकामाथिको निर्भरता घटाउँदै वैकल्पिक अर्थतन्त्र निर्माणमा क्यानाडा केन्द्रित रहेको बताउनुभएको थियो ।

यद्यपि, चीन र क्यानाडाबीच एकअर्कामाथि लगाइएका भन्सार शुल्कका विषयमा यस भेटघाटपछि कुनै ठोस घोषणा गरिएको छैन । यो विषय अझै पनि द्विपक्षीय सम्बन्धमा अड्किएको प्रमुख मुद्दाका रूपमा रहेको छ ।

प्रधानमन्त्री कार्नीका पूर्ववर्ती पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यकालमा क्यानाडाले अमेरिकाको नीतिलाई पछ्याउँदै चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा १०० प्रतिशत तथा स्टिल र एल्युमिनियममा २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो । त्यसको प्रतिकारस्वरूप चीनले क्यानाडाबाट आयात हुने क्यानोला तेल र खाद्य पदार्थमा १०० प्रतिशत तथा सुँगुरको मासु र समुद्री खानामा २५ प्रतिशत शुल्क लगाएको छ । साथै, गत अगस्टमा क्यानोलाको बिउमा थप ७५.८ प्रतिशत कर लगाइएको थियो । उद्योग समूहका अनुसार यी आयात करहरूले क्यानाडाली क्यानोलाका लागि चिनियाँ बजारलाई लगभग पूर्ण रूपमा बन्द गरिदिएको छ ।

विश्लेषकहरूका अनुसार क्यानाडाजस्ता अमेरिकी सहयोगी राष्ट्रहरूमाथि राष्ट्रपति ट्रम्पले अपनाइरहनुभएको दबाबको रणनीतिले ती देशहरूलाई अमेरिकासँग कम मेल खाने स्वतन्त्र विदेश नीति अवलम्बन गर्न प्रेरित गर्न सक्ने चीनको अपेक्षा रहेको छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपतिले क्यानाडा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने सुझावसमेत सार्वजनिक रूपमा दिइसक्नुभएको छ, जसले उत्तर अमेरिकी राजनीति र कूटनीतिमा थप बहस सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’