बैशाख १८, नयाँदिल्ली । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् ।
प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ ।
प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिनुभयो । ती युवा एउटा बैबाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए ।
मृत्यु भएकामध्ये दुई जना १९ वर्षका र एक जना १८ वर्षका थिए ।
गत वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ ।