पुस २२, एजेन्सी |अष्ट्रेलियामा भएको भिषण आगलागीले भयावह रुप लिएको छ | कम्तिमा २४ जना मानिसको ज्यान गैसकेको छ भने, ५० करोड भन्दा बढी जीवजन्तुको मृत्यु भइसकेको छ | आगोको मुस्लोबाट भाग्ने क्रममा बाँचेका जनावरहरुको अवस्था कारुणिक छ |
यतिबेला आगलागीमा परेका जनावरका निकै दुखद तस्बिरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् | एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर देखिएका छन् | अष्ट्रेलियाको जंगलमा लागेको आगो अझै नियन्त्रण बाहिर छ | इतिहासमै सबैभन्दा खतरनाक आगलागी भएको बिज्ञहरुको भनाइ छ | सयौं घर जलेर नष्ट भएका छन् भने पशुपन्छी, जनावर र हरियो जंगलसबै जलेर खरानी बनेका छन् |
आगलागीबाट प्रभावित सहरका वासिन्दालाई पानी, खाना र इन्धन पुर्याउन सैनिक पानीजहाज र विमान परिचालन भएका छन् | लामो समय सम्मको खडेरी,उच्च तापक्रम, र हावाहुरिका कारणले अहिले सम्म आगो नियन्त्रणमा आउनसकेको छैन |
वैज्ञानिकहरूले चिसो र सिमसार क्षेत्रमा यस्तो आगो लाग्नु अस्वभाविक भएको बताएका थिए | हाल अष्ट्रेलिया ६ मध्ये चार प्रान्तमा आगो फैलिसकेको छ | नोभेम्बर पहिलो सातासम्म मात्रै १५ सय अग्निनियन्त्रकले न्यू साउथ वेल्सका ७० ठाउँका आगो निभाउन खटिएका थिए |
उक्त राज्यले एक दशक यताकै सबैभन्दा डरलाग्दो आगलागी भएको भन्दै सूचना समेत निकाल्यो | आगलागीबाट आकाशमा धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो भएको छ | वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण अष्ट्रेलियामा आगलागी बढ्दै गएको बताएका छन् | गर्मी सिजनमा अष्ट्रेलिया तातो र सुख्खा हुन्छ तर जलवायु परिवर्तनले तातो हुने अवधि बढाइरहेको छ भने वनस्पतिलाई सुख्खा बनाउँछ र यसरी रुख सुख्खा भए पछि आगो छिटो सल्किन्छ |
अष्ट्रेलियाले ठूलो मात्रामा कार्वनडाइअक्साड बिसर्जन गर्छ | यसरी निस्केको कार्वनडाइअक्साइडले पूरै वायुमण्डललाई तातो बनाउँछ | र विश्वकै वातावारमा प्रदुषण ल्याउने बिज्ञहरुको भनाइ छ |