जोनसन टोरी लिडरको दौडबाट बाहिरिएपछि सुनकलाई बाटो खुला

Posted on: 24 Oct, 2022

कात्तिक ७, काठमाडौँ | बोरिस जोनसन कन्जरभेटिभ पार्टीको टोरी लिडर बन्ने दौडबाट पछि हटेपछि ऋषि सुनकलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ। सिनियर टोरीहरुले जोनसनको पुनरागमनले अराजकता निम्त्याउने चेतावनी दिएपछि पूर्व प्रधानमन्त्री जोनसनले उनीसँग पार्टीको नेतृत्व गर्न पर्याप्त सांसदहरूको समर्थन नभएको स्वीकार गरेका थिए।


आधिकारिक रूपमा आफ्नो चुनावी अभियान सुरु नै नगरेका जोनसनले आइतवार राति आफूले २०२४ मा कन्जरभेटिभ पार्टीलाई जिताउन सक्छु भन्ने विश्वास भएपनि यो ‘सही समय नभएको’ बताएका छन्।

त्यसको केही समयपछि एक ट्वीटमा सुनकले ब्रेक्सिट र भ्याक्सिन रोलआउट तथा युक्रेनमा भ्लादिमिर पुटिनविरुद्ध उत्रिएकोमा बेलायत जोनसनप्रति आभारी रहेको बताएका थिए। जोनसन प्रधानमन्त्री हुँदा सुनक चान्सलर बनेर सँगै काम गरेका थिए।

‘पुनः प्रधानमन्त्रीको लागि उम्मेदवारी नदिने निर्णय गरे पनि म साँच्चै आशा गर्दछु कि उहाँले देश र विदेशमा सार्वजनिक जीवनमा योगदान गर्ने काम जारी राख्नुहुनेछ,’ ट्वीटमा भनिएको छ।

जोनसनको कदमले टोरी लिडरको दौडमा रहेकी तेस्रो उम्मेदवार पेनी मोर्डाउन्टमाथि पनि सुनकलाई संसदीय दलको समर्थन रहेको स्वीकार गर्न दबाब पुगेको छ। सुनकसँग लगभग आधा सांसदहरूले समर्थन छ। आइतवार रातिसम्म पेनीसँग ३० जना मात्रै समर्थक थिए, जुन मतपत्रमा जान आवश्यक पर्ने संख्याभन्दा ७० कम हो।

पछिल्लो पटक लिज ट्रसविरुद्धको दौडमा दोस्रो स्थानमा आएका सुनकले आइतवार क्याबिनेट कार्यालयका मन्त्री नदिम जाहावी सहित १६५ भन्दा बढी सांसदको समर्थन बटुलेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!