साउदी अरेवियाका राजकुमार ट्विटरका दोस्रो सबैभन्दा ठूलो लगानीकर्ता

Posted on: 29 Oct, 2022

कात्तिक १२, एजेन्सी । इलोन मस्कले ट्वीटर अधिग्रहण गरेपछि पनि साउदी अरेबियाको ‘किंगडम होल्डिङ कम्पनी (केएचसी)’ र देशका राजकुमार अलवालीद बिन तलालको निजी कार्यालयको सो कम्पनीमा रहेको १.८९ अर्ब डलरको शेयर यथावत रहने बताइएको छ । 

यो संगै उनीहरु संयुक्त रूपमा ट्वीटरको दोस्रो ठूलो लगानीकर्ता बन्ने साउदी राजकुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बिन तलालले शुक्रबार आफ्नो ट्विटर खातामा सो विज्ञप्तिलाई राखेका छन् । मस्कलाई ‘चीफ ट्विट’ भनेर उल्लेख गरिएको वक्तव्यमा सम्झौता केएचसीको दीर्घकालीन रणनीति अनुरूप भएको बताइएको छ । बिन तलालद्वारा स्थापना भएको केएचसीमा साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोषको १६.९ प्रतिशत अंश छ ।


सन् २०२२ जनवरीसम्म, ३ करोड ४८ लाख जनसंख्या रहेको साउदी अरबमा १.२ करोड ट्वीटर प्रयोगकर्ता छन्, जुन विश्वका आठौं धेरै हो । विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले बिहीबार ४४ अर्ब डलर मुल्यमा ट्विटर अधिग्रहण पूरा गरेको घोषणा गरेका छन् । ‘चरोलाई मुक्त गरिएको छ,’ मस्कले सम्झौता पुरा भएपछि ट्वीटरको मुख्य चिन्ह चरालाई संकेत गर्दै मस्कले ट्वीट गरेका छन् । मस्कले उनको स्वामित्वमा ट्वीटर ‘वाक स्वतन्त्रताको मन्च’ हुने र यसमा पोष्ट हुने सामग्रीमा पहिलेभन्दा कम सिमा लाग्ने इच्छा व्यक्त गरेका छन् । तर सँगसँगै मस्कले ट्वीटर घृणा र विभाजनको ‘इको चेम्बर(प्रतिध्वनि कक्ष)’ बन्नबाट रोक्न चाहेको पनि बताएका छन् । 

मस्कको अधिग्रहण लगत्तै मस्कले ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकारी नेड सेगल र कानुनी मामिला तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरिएको बताइएको छ । तथापि यो विषयलाई कम्पनीले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । मस्कले ती उच्च अधिकृतमाथि प्लेटफर्ममा नक्कली एकाउन्टको संख्याबारे उनी र ट्विटरका लगानीकर्ताहरूलाई भ्रमित गरेको आरोप लगाएका थिए ।

स्रोतहरुलाई उल्लेख गर्दै पश्चिमी मिडियाले सम्झौता पुरा हुँदा ट्वीटर मुख्यालयमा रहेका अग्रवाल र सेगललाई समाएर बाहिर निकालिएको लेखेका छन् । बिन तलालले अप्रिलमा मस्कले सुरुमा ट्वीटर खरिदको प्रस्ताव राख्दा उनको प्रस्तावलाई अस्वीकार गरेका थिए । त्यसबेला मस्कले प्रस्ताव गरेको रकम ट्विटरको ‘आन्तरिक मूल्य’को नजिक पनि नभएको बताएका थिए । मस्कको ट्विटर खरिदका लागि सफ्टवेयर कम्पनी ओरेकलका सह–संस्थापक ल्यारी एलिसन र कतारको सार्वभौम सम्पत्ति कोष अन्तरगतको कतार होल्डिङलगायत धेरै लगानीकर्ताबाट रकम जम्मा गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!