लिभ इन पार्टनरद्वारा गर्लफ्रेन्डको हत्या गरी टुक्रा - टुक्रा पारियो शव, ६ महिनापछि यसरी खुल्यो राज

Posted on: 15 Nov, 2022

कात्तिक २९ काठमाडौँ | दिल्ली प्रहरीले महरौली इलाकामा ६ महिनाअघि भएको एक हत्याको मामिला सुल्झाएको छ । यस मामिलामा लिभ इन पार्टनरको हत्या गरेको आरोपमा अफताब नामका व्यक्तिलाई पक्राउ गरिएको छ ।

आफताबले मे १८ मा आफ्नी लिभ इन पार्टनर श्रद्धाको हत्या गरी शवलाई विभिन्न ठाउँमा जङ्गलमा फालेको आरोप छ ।


दिल्ली प्रहरीका अनुसार आरोपी अफताब र युवती मुम्बईमा कामको क्रममा नजिक भएका थिए । उनीहरु एकअर्कालाई माया गर्थे तर यो सम्बन्धलाई लिएर परिवार रिसाएको थियो ।

प्रहरीका अनुसार युवतीको परिवार महाराष्ट्रको पालघरमा बस्छ । परिवारको असन्तुष्टिका कारण दुवै दिल्ली आएर छतरपुर क्षेत्रमा घर भाडामा लिएका थिए ।

युवतीले आफताबलाई विवाहका लागि दबाब दिन थालेपछि उनीहरुबीच झगडा हुन थालेको प्रहरीले जनाएको छ । १८ मेमा उनीहरुबीच विवाहको विषयलाई लिएर झगडा भएको थियो । रिसमा आफताबले युवतीको घाँटी थिचेर हत्या गरेका थिए ।

दिल्ली प्रहरीका अतिरिक्त डीसीपी (दक्षिण) अंकित चौहानले भने, ‘आफताबले हत्यापछि आफ्नी प्रेमिकाको शरीरलाई धेरै टुक्रा पारेको स्वीकार गरेका छन् । शवको दुर्गन्ध नआओस् भनेर उनले नयाँ ठूलो साइजको फ्रिज किनेर शवका टुक्रा राखे । बिस्तारै उनले राती सहरका विभिन्न इलाकाको जङ्गलमा शवका टुक्रा फालिदिन्थे ।’

एफआईआरमा के छ ?

बीबीसी मराठी सेवाका संवाददाता मयंक भागवतले प्रहरीबाट प्राप्त गरेको एफआईआरको प्रतिलिपिमा यस केससँग सम्बन्धित धेरै महत्त्वपूर्ण जानकारी प्राप्त भएको छ ।

श्रद्धाका बुबाले प्रहरीलाई दिएको उजुरीमा आफ्नी श्रीमती र उनी केही वर्षअघि अलग भएको र उनी आफ्नी आमासँग महाराष्ट्रको पालघरमा बसिरहेको बताए ।

उनकी छोरी श्रद्धा सन् २०१८ मा मुम्बईको कल सेन्टरमा काम गर्थिन्, जहाँ उनको भेट आफताब पूनावाला नामका युवकसँग भयो ।

श्रद्धाका बुबाले भने, ‘सन् २०१९ मा श्रद्धाले आमालाई आफताबसँग लिभ इन रिलेशनमा बस्न चाहेको बताएकी थिइन् । तर मेरी श्रीमतीले अस्वीकार गरिन् किनभने हाम्रो अन्य धर्म र जातसँग विवाह चल्दैन । हामीले अस्वीकार गरेपछि छोरीले आफू २५ वर्ष पुगिसकेको र आफ्नो निर्णय आफैँले लिनसक्ने भइसकेको बताइन् ।’

यही विषयमा आमासँग झगडा भरेर श्रद्धाले घर छोडिन् र अफताबसँग बस्न थालिन् ।

एफआईआरमा भनिएको छ, ‘श्रद्धा र आफताब केही दिन नयाँ गाँउमा बसे र त्यसपछि वसई क्षेत्रमा गए । मेरी छोरीले बेलाबेला आफ्नी आमालाई फोन गर्थिन् र आफताबले आफूमाथि कुटपिट गर्ने गरेको बताउने गर्थिन् ।’

हत्याबारे कसरी पत्ता लाग्यो ?

पिताको दाबी अनुसार श्रद्धा उनलाई भेट्न पनि आइन् र अगाडि बसेर आफ्नो समस्या सुनाए । त्यसपछि उनले श्रद्धालाई आफताबलाई छोड्न भनेका थिए तर आफताबले माफी मागेपछि उनी फर्किइन् ।  

श्रद्धाका पिताले प्रहरीसँगको कुराकानीमा भने, ‘श्रद्धाले कुरा नमानेपछि मैले उनीसँग कुरा गर्न छोडेको थिएँ । तर सेप्टेम्बरमा श्रद्धाका एक साथीले उनका छोरालाई फोन गरेर करिब दुई महिनादेखि श्रद्धाको फोन स्वीच अफ भइरहेको बताए ।’

श्रद्धाबारे केही जानकारी नआएपछि उनका बुबाले महाराष्ट्रको माणिकपुर प्रहरी चौकीमा हराएको उजुरी दिए । एफआईआरमा उनले आफताबसँग श्रद्धाको सम्बन्धको पनि उल्लेख गरे र श्रद्धा बेपत्ता हुनुमा अफताबको हात हुनसक्ने आशंका पनि व्यक्त गरे ।

बाबुको उजुरीका आधारमा प्रहरीले आफताबको खोजी सुरु गरी अनुसन्धान थाल्यो  ।

पक्राउपछि आफताबले सोधपुछका क्रममा उनीहरुबीच विवाहको विषयमा विवाद भएको र रिसका कारण हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

डेटिङ एपमा भेटेका थिए दुई

दिल्ली पुलिसका अतिरिक्त डीसीपी (दक्षिण) अंकितले भने, ‘जब केटीका बुबाले छोरीसँग सम्पर्क नभएपछि हराएको भन्ने थाहा पाए तब उनले मुम्बई पुलिसमा उजुरी दिए । मुम्बई प्रहरीको अनुसन्धानमा युवतीको अन्तिम लोकेशन दिल्लीमा रहेको पत्ता लागेको थियो । त्यसपछि युवतीको परिवारले दिल्लीको महरौली प्रहरी चौकीमा उजुरी दिएका थिए ।’

सोधपुछका क्रममा दुवैको भेट डेटिङ एपमार्फत भएको खुलेको छ । मुम्बईमा लिभ इनमा बस्दथे र दिल्ली आएर पनि सँगै बसेका थिए । दिल्लीमा बस्दा उनीहरुबीच झगडा हुन थाल्यो । उनीहरुबीच कुटपिट पनि हुने गर्दथ्यो ।’

सबै डिजिटल र वैज्ञानिक प्रमाण सङ्कलन गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले शवका टुक्राहरु राखिएको भनिएको फ्रिज पनि बरामद गरेको छ ।

अफताबको पहिचानका आधारमा महरौलीको जंगलबाट हड्डी फेला परेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!