रूस युक्रेन युद्धलाई शान्तिमा रूपान्तरणका लागि जी-२० मा जेलेनेस्कीका १० बुँदे प्रस्ताव

Posted on: 15 Nov, 2022

कात्तिक २९, काठमाडौँ | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रूस युक्रेन युद्धलाई शान्तिमा रूपान्तरणका लागि १० बुँदे प्रस्ताव अघि सारेका छन्।

इन्डोनेसियाको बालीमा जारी जी-२० शिखर सम्मेलनमा भर्चुअल सम्बोधन गर्दै जेलेनेस्कीले शान्तिका लागि १० बुँदे प्रस्ताव अघि बढाएको सिएनएनले जनाएको छ।


‘दोस्रो विश्वयुद्ध ताकाको झल्को दिनेगरी हामीमाथि आक्रमण भएको छ। यसको अन्त्य कसरी हुनेछ भन्नेमा हामी निश्चिन्त छैनौँ, जलेनेस्कीले सम्बोधनमा भनेका छन, ‘विश्वमा अस्थिरताको अन्त्यका लागि युद्ध अन्त्य गर्न जरुरी ठानेकाले हामी शान्तिको प्रस्ताव समेत गर्छौं। तर दुष्ट प्रवृत्तिविरुद्ध अन्तिमसम्म लड्न युक्रेन प्रतिबद्ध नै छ।’

शान्तिका लागि जेलेनेस्कीले १० बुँदे प्रस्ताव अघि सारेका हुन्। त्यसमा विकिरण तथा आणविक सुरक्षा, खाद्य र उर्जा सुरक्षाका विषय समावेश छन्।

यस्तै उनले रूसले हिरासतमा राखेका आफ्ना नागरिकलाई रिहा गर्नुपर्ने प्रस्ताव गरेका छन् भने राष्ट्रसंघको वडापत्रको पालना हुनुपर्ने प्रस्ताव ल्याएका छन्।

युक्रेनबाट रूसी सेना फिर्ता हुनुपर्ने र युक्रेनले न्याय पाउनुपर्ने प्रस्ताव जेलेनेस्कीको छ। उनले प्राकृतिक स्रोत तथा वातावरणको रक्षा र दुई पक्षबीच तनावको स्थिति अन्त्य गर्दै युद्ध अन्त्य भएको पुष्टि गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्। 

जी-२० शिखर सम्मेलनमा रूसले युक्रेनमा गरेको आक्रमणप्रति अधिकांश मुलुकका प्रतिनिधिले भर्त्सना गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!