म्यान्मारले करिब छ हजार कैदीलाई रिहा गर्ने

Posted on: 17 Nov, 2022

मङ्सिर १, काठमाडौँ । म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ ।

सेनाप्रति बफादार (जुन्ता) सरकारको निर्णय अनुसार राष्ट्रिय दिवसका अवसरमा रिहाई गरिएका स्वदेशी तथा विदेशी नागरिकलाई तीन वटा बसमा राखि जेलबाट बाहिर पठाइएको एएफपीका म्यानमार सम्वाददाताले बताए ।

गत वर्ष सेनाले गरेको ‘कू’ र असहमतिमाथिको रक्तपातपूर्ण दमनका कारण दक्षिणपूर्वी एशियाली राष्ट्र म्यानमार अशान्त बनेको छ र यस अवधिमा हजारौँलाई जेल सजाय सुनाइएको छ ।


बेलायतका पूर्वराजदूत विक्की बोमन, अष्ट्रेलियाका आर्थिक सल्लाहकार सिन टर्नेल र जापानी पत्रकार तोरु कुबोतालाई राष्ट्रिय दिवसका अवसरमा रिहा गरिने एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् ।

जुन्ता प्रशासनले तीनै जनालाई सुपुदर्गी गरिने बताएको छ तर यसका लागि मिति भने नतोकिएको बताएको छ ।याङ्गुनको इन्सेन जेलबाहिर प्रियजनहरू रिहा हुने आशामा करिब २०० जना मानिस भेला भएका एएफपीका सम्वाददाताले बताएका छन् ।

प्रतिशोधको डरले आफ्नो नाम बताउन नचाहेकी एउटी महिलाले सेनाविरुद्ध असहमति जनाउन उक्साएको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका आफ्ना पतिलाई पर्खिरहेको बताइन् । 

“यसअघि उनी युएसडीपी (सैन्य समर्थित राजनीतिक दल) समर्थक थिए । ‘कू’ पछि उनी प्रदर्शनमा सामेल भएका थिए । मलाई उनीप्रति गर्व छ,” उनले भनिन् । 

जुन्ताका अधिकारीले करिब ७०० महिलाको पहिलेको आँकडालाई पुनरावलोकन गर्दैे लगभग ६०० महिलासहित कूल पाँच हजार ७७४ कैदीहरूलाई रिहा गरिने पुष्टि गरेका छन् । 

जुन्ताले आममाफीको घोषणा गर्ने आफ्नो वक्तव्यमा असहमतिमाथि सेनाको दमनका क्रममा क्षमादान गरिएकामध्ये कति जना पक्राउ परेका थिए भन्ने बिषयमा केही बताएको छैन ।

सन् २००२ देखि २००६ सम्म राजदूतको रूपमा काम गरेकी बोमनलाई आफ्नो विदेशी दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको ठेगानाभन्दा फरक ठेगानामा बसिरहेको तर जानकारी नगराएको भन्दै अगस्टमा उनका पतिसहित हिरासतमा लिइएको थियो ।

उनीहरूलाई पछि एक वर्षको जेल सजाय सुनाइएको थियो । उनका पति म्यान्मारका चर्चित कलाकार हटेन लिनलाई पनि रिहा गरिने सैनिक अधिकारीले बताएका छन् ।

बेलायती कुटनीतिक स्रोतका अनुसार बोमनलाई अहिलेसम्म रिहा गरिएको छैन तर उनलाई रिहा गर्ने अपेक्षा गरिएको छ । जुन्टाको बयानमा उनका पतिलाई देश निकाला गर्ने सूचीमा समावेश गरिएको छैन ।

म्यान्मार र उसको पूर्व औपनिवेशिक शासक बेलायतबीचको सम्बन्धमा सेनाको कब्जापछि तिक्तता आएको छ र यस वर्ष जुन्ताले बेलायतले त्यहाँ आफ्नो मिसनलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेको छ ।

सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि पक्राउ परेका टर्नेल म्यान्मारकी नागरिक नेतृ आङ सान सुकीका सल्लाहकारका रुपमा कार्यरत थिए ।

उनी र सुकीलाई गत सेप्टेम्बरमा जुन्ताको अदालतले आधिकारिक गोपनीयता ऐन उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गर्दै तीन–तीन वर्षको जेल सजाय सुनाएको थियो ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले ट्वीटरमा लेखेकी छन्, “हामी प्रोफेसर सिन टर्नेलसँग सम्बन्धित रिपोर्टको स्वागत गर्दछौं । प्रोफेसर टर्नेल हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले, हामी यस चरणमा थप टिप्पणी गर्नेछैनौं ।” २६ वर्षीय कुबोतालाई गत जुलाईमा याङ्गुनमा सरकारविरोधी ¥यालीबाट म्यान्मारका दुई नागरिकसहित पक्राउ गरी १० वर्षको जेल सजाय सुनाइएको थियो ।

म्यान्मारस्थित जापानी दूतावासका एक स्रोतले एएफपीलाई बताएअनुसार कुबोतालाई जुन्ता अधिकारीहरूले आज (बिहीबार) रिहा गर्ने जानकारी गराएको छ । कुबोता ‘आज नैै’ जापान प्रस्थान गर्ने बताइएको छ ।

अमेरिकी नागरिक नाथन माउङ र ड्यानी फेन्स्टर, पोल्याण्डका रोबर्ट बोसियागा र जापानका युकी किताजुमीपछि म्यानमारमा पक्राउ पर्ने कुबोता पाँचौं विदेशी पत्रकार हुन् ।

युनेस्कोका अनुसार विद्रोहपछि कम्तीमा १७० जना पत्रकारलाई पक्राउ गरिएको छ भने करिब ७० जना अझै हिरासतमा छन् ।

– उहाँप्रति निकै गर्व छ –

सान सान आइले आफू आफ्ना भाइबहिनीको रिहाईको पर्खाइमा रहेको बताइन् । उनले एएफपीसँग भनिन्,“तीमध्ये तीन जनालाई आठ महिनाअघि तीन–तीन वर्ष जेल सजाय सुनाइएको थियो । ” 

“उनीहरूका छोराछोरी घरमा पर्खिरहेका छन् । यदि उनीहरू रिहा भए भने हामी धेरै खुसी हुनेछौं ।” स्वतन्त्र विश्लेषक डेभिड म्याथिसनले एएफपीसँग भने, “प्रोफेसर टर्नेलको रिहाई शासनद्वारा बन्धक बनाइएपछिको उल्लेखनीय समाचार हो र उनका परिवार र साथीहरू खुसी हुनेछन् ।

यद्यपि, उनले जुन्ताले सुधारको कुनै सङ्केत नदेखाएको र आममाफीले उनीहरूलाई ‘कू’ पछि भएका अत्याचारबाट मुक्त गर्न नसक्ने बताएका छन् ।

एम्नेस्टीको क्षेत्रीय कार्यालयका प्रवक्ताले भने, “म्यान्मारमा भएको ‘कू’ पछि जेलमा रहेका हजारौं मानिसले केही पनि गलत गरेका छैनन् ।

सुकीको अपदस्थ सरकारका तीन जना पूर्वमन्त्री र हिरासतमा रहेका अमेरिकी मुलका म्यान्मारका नागरिक क्याउ हटे ओलाई पनि रिहा गरिने जुन्टाका अधिकारीले बताएका छन् ।

म्यान्मारको एक निगरानी समूहका अनुसार सुकीको सरकारलाई सत्ताच्युत गरेपछि असहमतिमाथि सेनाले गरेको दमनपछि दुई हजार ३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ 

जुन्ताले करिब तीन हजार ९०० सर्वसाधारणको मृत्युका लागि ‘कू’ विरोधी लडाकुलाई जिम्मेवार ठह¥याएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!