इबोला नियन्त्रणका लागि आपतकालीन कोष

Posted on: 18 Nov, 2022

मंसिर २, काठमाडौँ | युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ ।


विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डाको इबोलाको नियन्त्रण गर्नुपर्ने र यो महामारी युगाण्डाका छिमेकी देशमा फैलिन नदिन पहिले नै सतर्कता अपनाउनुपर्ने अवस्था रहेकाले सो प्रयोजनका लागि तत्कालै युगाण्डाका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको अफ्रिका क्षेत्रीय निर्देशक मातेसिदो मोइतोले युगाण्डा र अन्य देशहरुमा इबोला महामारीका विरुद्धमा अपनाउनुपर्ने सतर्कता एवं औषधि उपचारका लागि विश्व स्वस्थ्य सङ्गठनले ८ करोड ८० लाख  अमेरिकी डलर बराबरको रकम आवश्यक रहेको भनी अपिल गरेको र अहिलेसम्ममा त्यसको २० प्रतिशत मात्र जम्मा भएको जानकारी दिनुभएको हो ।

यसअघि पनि गत महिना नै विश्व स्वास्थ्य सङ्गठनले युगाण्डालगायत अफ्रिकाका देशहरुमा इबोलाको प्रकोप बढ्दो देखिएकाले यसको नियन्त्रणका लागि भन्दै रकम सहयोग गर्न अपिल गरेको थियो । तर अपेक्षा गरिएअनुसारको रकम उपलब्ध हुन नसकेको निर्देशका मोइतोले जानकारी दिनुभएको हो । युगाण्डाले गत सेप्टेम्बर २० मा इबोलाको महामारी घोषणा गरेको थियो ।

त्यसपछि यहाँ सो महामारीको नियन्त्रणका लागि भन्दै विश्व स्वास्थ्य सङ्गठनले रकम आवश्यक रहेको घोषणा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!