इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता

Posted on: 20 Nov, 2022

मङ्सिर ४, न्युयोर्क | इरानमा जारी विरोध प्रदर्शनका क्रममा बालबालिकाको मृत्यु भएको विषयलाई लिएर  संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।  

इरानमा जारी विरोधक्रममा ५० जना बालबालिकाले ज्यान गुमाएका युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । इरानमा दुई महिनाभन्दा बढी समयदेखि जारी अशान्तिप्रति युनिसेफ, एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी सङ्घसंस्थाले बालबालिकाविरुद्धको अपराध र मानवअधिकार उल्लङ्घनमा कारबाही गर्न माग गरेका छन् ।  

इरानमा बालबालिकाको हत्या भएको, विभिन्न घटनामा उनीहरू घाइते  भएका तथा कुनै गम्भीर कसुरमा दोषी नहुँदा पनि हिरासतमा लिइएकामा युनिसेफ गहिरो चिन्ता व्यक्त गरेको छ । गत बुधवार सात जना बालबालिका मारिएका थिए । मारिनेमा एक जना १० वर्षका बालक रहेका बताइएको छ ।  आफ्ना मातापितासँग कारमा यात्रा गरिरहेको ती बालकको गोली हानी हत्या गरिएको थियो ।  उनका बुबा गोली लागेर  घाइते भएका उनकी आमाले सञ्चार माध्यमलाई बताएकी जनाइएको छ । इरानी मानव अधिकार समूहकाअनुसार प्रदर्शन सुरु भएदेखि कम्तीमा तीन सय ७८ जना मारिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!