विश्वकपका दौरान मेसी बसेको विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने

Posted on: 28 Dec, 2022

पुस १३, काठमाडौँ । कतार विश्वविद्यालयले फिफा विश्वकपका दौरान अर्जेन्टिनी स्टार लियोनल मेसी बसेको कोठालाई संग्रहालय बनाउने घोषणा गरेको छ । कतार न्युज एजेन्सी (क्यूएनए)ले ट्विटरमार्फत विश्वकपका दौरान मेसी बसेको कोठामा विश्वविद्यालयले नयाँ पाहुना नराख्ने खुलाएको हो ।

उक्त कोठालाई अब संग्रहालयका रूपमा सजाइने र पाहुना र विद्यार्थीहरूलाई अवलोकन गर्न दिइनेछ ।


विश्वविद्यालयले अर्जेन्टिनाअघि सन् २०१९ को क्लब विश्वकपमा लिभरपुललाई पनि विश्वविद्यालय प्रयोगको सुविधा प्रदान गरेको थियो । विश्वविद्यालयमा स्वीमिङ पुल, जिम र प्रशिक्षणका लागि मैदान पनि छ । यसैकारण अर्जेन्टिनाले होटेलको सट्टा विश्वविद्यालय रोजेको थियो ।

कतार विश्वविद्यालयका सञ्चार निर्देशक हित्मी अल हित्मीका अनुसार विश्वकपका लागि फिफाको नियमानुसार होटेलमा हुनुपर्ने सम्पूर्ण सुविधा विश्वविद्यालयमा थपिएको थियो । अल हित्मीले अबदेखि मेसी बसेको कोठामा कुनै परिवर्तन नगरिने र यसलाई संग्रहालयका रूपमा राखिने बताए ।

“अर्जेन्टिनाका राष्ट्रिय खेलाडी लियोनल मेसी बसेको कोठामा कुनै परिवर्तन गरिने छैन । र, अबदेखि यो भ्रमणमा आउने पाहुनाका लागि मात्र खुला हुनेछ । यो कोठामा अब कसैलाई पनि बासको अनुमति दिइने छैन,” अल हित्मीले भने ।

गएको साता सम्पन्न फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको थियो । त्यो खेल पेनाल्टीमा पुग्नुअघि अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए ।

अर्जेन्टिनाले सन् १९७८ मा पहिलो र १९८६ मा दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!