पढ्न करिब 2 मिनेट लाग्छ

साउन २४, काठमाडौँ | अमेरिकाको टेक्ससमा एक महिला एकैपटक बाज र सर्पको दोहोरो आक्रमणमा परेको घटना सार्वजनिक भएको छ। सिकार गर्न सर्प समातेर उडेको एउटा बाजको पन्जाबाट फुत्किएको सर्प अचानक उनको शरीरमाथि खसेको थियो। घरबाहिर बगैँचामा घाँस काट्दै गर्दा ६४ वर्षीया पेगीसँग गत महिना उक्त अकल्पनीय घटना भयो। केही बेरअघिसम्म कालको मुखमा परेको सर्प उनीमाथि खसेपछि आत्तिएर त्यो उनीमाथि जाइ लाग्यो भने आफ्नो पन्जामा परिसकेको आहार फुत्किएपछि रिसाएको उक्त सिकारी पक्षीले पनि उनलाई झम्टियो।

सर्पले पेगी जोन्सको पाखुरामा बेरिएर उनको अनुहारतिर डस्न खोज्यो भने बाजले उनलाई बारम्बार चिथोर्यो। उक्त भयानक घटनामा जोन्सको पाखुरा र अनुहारमा चोट लागेको थियो। यो घटना जुलाई २५ मा लुइजियानाको सीमानजिकै टेक्ससको सिल्स्बीमा भएको हो। आकाशबाट सर्प खसेपछि पेगी जोन्सले त्यसलाई आफ्नो शरीरबाट हटाउनुअघि नै बाजले उनलाई झम्टिन थालेको थियो।

“मैले हात झट्कारेर सर्पलाई पर हुत्त्याउन खोजेकी थिएँ तर त्यो त मेरो पाखुरामा पो बेरियो,” उनले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग भनिन्।

“सर्पले मेरो अनुहारमा डस्न खोजिरहेको थियो। मेरो चस्मामा धेरै पटक आक्रमण गर्यो। मैले हात झट्कारिरहेँ, उसले डस्न खोजिरहेको थियो र मेरो हातमा झुन्डिइरह्यो,” उनले भनिन्।

रूखमुनि नभई खुला ठाउँमा भएका कारण आकाशबाट कुनै सिकारी चराले नै सर्प खसाएको उनलाई लागेको थियो। तत्काल बाजले आक्रमण गर्न थालेपछि उनको अनुमान सही प्रमाणित भयो।

“जुन गतिमा सर्प बज्रियो त्यही गतिमा बाज झुल्कियो," उनले भनिन्।

“बाजले मेरो पाखुरामा बेरिएको सर्पलाई अँठ्यायो र पाखुरै थुतेर लैजाला जसरी जोडले तान्यो। बाजले सर्प थुतिसकेपछि मेरो पाखुरा पनि हुत्तियो," उनले भनिन्।

उनको पाखुराबाट सर्प फुत्काउन बाजले निकै सङ्घर्ष गर्नुपरेको थियो। आफ्नो आहार थुत्ने क्रममा पेगी जोन्सलाई बाजले कैयौँ ठाउँमा चिथोर्यो।

बाजले सर्प खोसेर लगेको घटना सुनेर छक्क परेका उनका पतिले जोन्सलाई अस्पताल दौडाए।

“मेरो शरीरमा कैयौँ ठाउँमा काटेको थियो, चिथोरेका आला डाम र गम्भीर चोटहरू थिए,” उनले भनिन्। उनका अनुसार सर्पले उनको अनुहारमा आक्रमण गर्दा चस्मा पनि बिग्रिएको थियो।

जोन्स उक्त घटनालाई भयानक मान्छिन्। सर्प र बाज दुवैले आक्रमण गर्दा आफूलाई मरिन्छ जस्तो लागेको उनी बताउँछिन्। त्यसपछि उनी अनिद्राको सिकार भएकी छन्।

टेक्ससको ग्रामीण भेगमा बस्ने उनका अनुसार जङ्गली जनावरहरूसँगको जम्काभेट उनका लागि नौलो कुरो होइन।

“मैले बाजले सर्प बोकेर उडेको पनि देखेकी थिएँ। तिनले त्यसो गर्छन् र आफ्नो सिकार त्यसरी नै मार्छन् भन्ने पनि थाहा थियो,” उनले भनिन्।

तर यो घटना अब उनले अब कहिल्यै बिर्सिने छैनन्।