एजेन्सी | ६९ वर्षका एक वृद्धाले साढे दुई घण्टामा ११ किलो तौल घटाएर विश्व कीर्तिमान राखेका छन् । रसियन रिपब्लिक अफ डागेस्टनका ती वृद्धाले सर्वाधिक छिटो तौल घटाएको भन्दै रेकर्ड राखेका हुन् ।

बाहामा एगुबोभले सन् २०१९ मा पाँच घण्टाको दौड प्रतियोगितामा ९.३ किलो तौल घटाएर रसियन बुक अफ रेकर्डस्मा आफ्नो नाम सुचीकृत गरिसकेका थिए । यस पटक माखाच्कलामा आयोजित दौड प्रतियोगितामा साढे दुई घण्टामा २१ किलोमिटर दौडिएर ११.१ किलो तौल घटाएर उनले आफ्नै रेकर्ड तोडेका छन् ।

यद्यपि, एगुबोभको यो रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डले मान्यता दिन सक्दैन किनभने यसले छिटो तौल घटाउनका लागि विभिन्न खतरनाक प्रयोगमा संलग्न हुन मानिसलाई प्रोत्साहन गर्न नसक्ने बताउने गर्छ । तर यी पेन्सनधारीले संसारको सबैभन्दा छिटो तौल घटाउने आफू एक्लो व्यक्ति भएको दाबी गर्छन् ।

‘करिब साढे तीन वर्षको अवधिमा धेरैले मेरो रकेर्ड तोड्ने कोसिस गरे, दुवै अमेरिकी र रसियालीले । अमेरिकीले त त्यस्तो गर्नै सकेनन् । २५ जनाले यसका लागि प्रयास गरे, उच्च पदस्थ सेनाले पनि तर तीमध्ये आधा अस्पताल भर्ना हुनुपर्यो,’ ती पेन्सनधारीले भने ।

‘हामी त तपाईंको रेकर्डमा विश्वास गर्दैनौँ, तपाईंको यस्तो दाबीमा शङ्का लाग्छ’ भन्नेलाई उनले गहिरो असन्तुष्टि पोखेका छन् । उनले यो संसारका जुनसुकै मानिसभन्दा पनि आफूले निकै छिटो र प्रभावकारी तरिकाले तौल घटाउन सक्ने दाबी गरे ।

‘मलाई धेरैले तिम्रो रेकर्ड कसैले तोडिदिन्छ भन्ने गर्छन् । तर रेकर्ड शरीरको तौलको प्रतिशतमा मापन गरिन्छ । यदि कोही व्यक्तिको तौल धेरै छ भने पक्कै पनि उसले धेरै नै तौल घटाउनेछ । तर प्रतिशतको हिसाबले म जोसुकैलाई पनि हराउन सक्छु । साढे तीन वर्षमा मेरो कीर्तिमान कसैले तोडेको छैन । धेरैले प्रयास गरे तर सकेनन् । उनीहरू कहाँ गए ?’

पोषणविद् ओक्साना लिसेन्कोले केपीडटआरयुसँगको कुराकानीमा दुई घण्टामा ११ किलो घटाउनु भनेको शरीरबाट तरल पदार्थ हटाउनु हो भनेर जानकारी दिइन् । उनले भनिन्, ‘उनी यसका लागि निकै तयार थिए भन्ने कुरा पक्का छ । सोफामा बसिरहेका साधारण मानिसले पानी नपिइकन एक्कासि यति धेरै दौडन्छु भन्यो भने दुई किलोमिटर दौडिँदा नै ऊ बेहोस हुन्छ । ’

‘व्यावसायिक खेलाडीले प्रतियोगिताको एक वा दुई हप्ता अघिदेखि नै विशेष तरिका प्रयोग गरेर शरीरबाट यस प्रकारको तरल पदार्थ हटाउने काम गर्छन् । यो पानी घटाउने प्रक्रिया हो, बोसो होइन । एक ग्राम बोसोमा ९ क्यालोरी हुन्छ । एक किलोग्राम बोसो घटाउनका लागि तपाईंले ९ हजार क्यालोरी बर्न गर्नुपर्छ,’ उनले भनिन् ।

पोषणविद् थप्छिन्, ‘यो दुरीमा औसतमा तपाईंले ४०००–५००० क्यालोरी खर्चिनुहुन्छ जुन ४–५ किलोग्राम हो । तरल पदार्थका साथै महत्त्वपूर्ण इलेक्ट्रालाइट्स शरीरबाट बाहिरिन्छन् जस्तै सोडियम, पोटासियम, म्याग्नेसियम । यी तत्त्वहरू खाना वा पानीबाट प्राप्त हुँदैन भने हाम्रो स्नायु प्रणाली, हृदय प्रणाली र ऊर्जा प्रभावित हुन्छ । त्यसैले यो सबैले गर्नु उचित हुँदैन ।’

Related News