एजेन्सी | एक जना कोलम्बियाली महिलाले श्रीमानबाट पैसा धुत्न २ वर्षीय छोराको अपहरणको नाटक गरेकी छिन् । नोभेम्बर १२ मा कोलम्बियाको बारान्किजाको दक्षिणमा रहेको क्यारिबे बेर्देमा एक बालक अपहरणमा परेको खबर आगो झैँ फैलियो । मोटरसाइकलमा हेलमेट लगाएर आएका २ जनाले सडकमा आमासँग हिँडिरहेको बालकलाई आमाको हातबाट थुतेर लगे ।

प्रहरी घटनास्थलमा आएर आमासँग सोधपुछ गरे । अपहरणमा परेको बच्चाको हुलियासँग मिल्ने एक बालकलाई देखेको भन्दै प्रहरीमा जानकारी आयो । प्रहरी उक्त अपार्टमेन्टमा पुग्दा बच्चा उसकै आमाको साथीसँग रहेको थाहा भयो । बालककी आमाले १७ वर्षीय आफ्नो साथीलाई केही दिन बच्चालाई हेरिदिन अनुरोध गरेकी थिइन् । सोही अनुरोध मानेर युवाले बालकलाई आफ्नो घर ल्याए । अपहरणमा परेको भन्ने बालक आफ्नो घरमा देखेपछि युवाको आमाले प्रहरीलाई खबर गरिदिइन् ।

छोराको अपहरणको नाटक गरेर महिलाले बच्चाको पितासँग ६ करोड पेसो (१४ हजार ७०० डलर) उम्काउन खोजेकी थिइन् । अपहरणको बेलामा बच्चाको मातापिता सँगै थिए कि थिएनन् भन्ने स्पष्ट छैन । बालक अहिले आफ्नो पिताको संरक्षणमा रहेको र आमा जेलमा अभियोगको सजाय कुरिरहेको भन्दै कोलम्बियन सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

Related News