ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सेंको पासपोर्टमा मेर"/>
कात्तिक १३, काठमाडौं | घटना ६२/६३ को आन्दोलन अघिकै हो जति खेर माओवादी जनयुद्धमै थियो ।
ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सेंको पासपोर्टमा मेरो फोटो टाँसियो । पासपोर्टमा अरू सबै ठीकठाक देखिए पनि एउटा सानो समस्या थियो । मेरो फोटोको एकापट्टि कुनामा अलिकति खुम्चिएछ । तैपनि, त्यसैलाई प्रयोग गरेर म युरोप जाने भन्ने भयो । सन् २००३ को सेप्टेम्बरमा पार्टी निर्णयअनुसार म युरोप जान तयार भएँ ।
तर, यस विषयमा पार्टीभित्र र बाहिर पनि त्यत्ति छलफल गरिनु उपयुक्त हुँदैनथ्यो । पार्टीभित्र अध्यक्ष प्रचण्ड र हाल प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र रिमबाट जसले मलाई पासपोर्टमा सहयोग गर्नुभएको थियो, तीनजनालाई मात्र जानकारी थियो । सुरक्षाका दृष्टिले पनि यस विषयमा धेरैसँग छलफल गरिनु उपयुक्त हुँदैनथ्यो ।
पासपोर्टमा मेरो फोटा टाँसी तयार भएर आएपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रिक्स पनि हुनसक्छ, के गर्ने ?’ मैले भने, ‘रिक्स मोल्नै पर्छ, मोल्ने ।’ त्यसपछि म जान तयार भएँ । नीतिगत रूपमा युरोप पार्टीको प्रचारका लागि जाने भन्ने भएको थियो । यो विषय कमरेड किरण (मोहन वैद्य)लाई पनि जानकारी थियो । तर, कहिले कसरी जाने भन्नेबारे भने उहाँलाई पनि जानकारी गराइएको थिएन । विषयको संवेदनशीलतालाई मध्यनजर गरी अन्य नेतालाई पत्तोसम्म दिइएको थिएन ।
अब टिकटका लागि पहल भयो । टिकट ‘कन्फर्म’ भयो । फ्लाइटअघि विमानस्थलमा हुने सबैजसो ‘चेकजाँच’ भइसकेको थियो । ‘ब्यागेज’ जाँच हुँदासम्म केही समस्या आएको थिएन । तर, अन्तिममा इमिग्रेसन चेकअप हुँदा उसले जहाँ फोटो खुम्चिएको थियो, त्यहीँ हे-यो । उसले मेरो नाम के हो ? जान लागेको देशको कुन ठाउँ हो ? आदि इत्यादि सबै सोध्यो ।
‘जसको पासपोर्ट म प्रयोग गर्दै थिएँ, त्यहाँ भएका सबै विवरण सबै कन्ठै गरेर गएको थिएँ, फररर भनेँ । लन्डनको ठाउँ पनि कन्ठै थियो । हस्ताक्षर गर्न लगायो, मैले धेरैपटक प्रयास गरेर दुरुस्तै गर्ने भइसकेको थिएँ । त्यहीअनुसार नै गरेँ । मलाई सोध्दा उनीहरू स्वयं दुविधामा परिरहेका देखिन्थे ।
उसले शंका गर्न थाल्यो भन्ने मलाई परिरहेकै थियो । उनीहरूले अनेक खालका प्रश्न तेस्र्याउन थाले । मैले नअड्कीकनै सबै बताइरहेँ । त्यहीवेला एकजना ब्रिटिस महिला आइन् । उनका श्रीमान् ब्रिटिस हाई कमिसनमा काम गर्दा रहेछन् । उनका श्रीमान् लन्डन जाँदै रहेछन् । तिनी भिआइपी भएकाले उनलाई माथिसम्म जान दिएका रहेछन् । उनी आफ्ना श्रीमान्लाई छाड्न भनेर माथि पुगेर फर्केर आउँदै रहिछन् । मलाई केराकार गरिरहेकाहरूले ‘म्याडम ! अलिकति सहयोग गर्न सक्नुहुन्छ ?’ भन्दै बोलाए । उनले भनिन्, ‘किन नसक्नु ?’
त्यसपछि मलाई केरकार गरिरहेकाहरूले ‘उहासँग ब्रिटिस पासपोर्ट छ, तर पासपोर्टमा प्रयोग गरिएको उहाँको फोटोमा अलिकति समस्या देखिएको छ । यस विषयमा खोजीनीति गरेर हामीलाई सहयोग गरिदिनुहोस् न ।’
उनले पनि खुसी हुँदै भनिन्, ‘हुन्छ, म सहयोग गर्छु ।’ त्यसपछि ती महिला मसँग बयान लिन थालिन् । उनले पनि तिनै प्रश्न गर्न थालिन्, जुन पासपोर्टमा लेखिएको थियो । मैले पहिले दिएअनुसारकै जवाफ दिइरहेको थिएँ । – आजको नयाँ पत्रिकामा सिपी गजुरेलको स्टोरी छापिएको छ।