३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

शेख हसिनाको बहिर्गमनपछि बंगलादेशमा किन हिन्दुहरू निसानामा परे ?

२४ श्रावण २०८१, बिहीबार १०:१६

साउन २४, काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्।

अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा बस्छ ।

त्यो फोनको बारेमा अविरुपले भने, ‘बहिनी निकै डराएकी थिइन् । बहिनीका अनुसार उनको घरमा भीडले आक्रमण गरी लुटपाट गरिएको थियो ।’


करिब १ सय जनाको भीडले लाठी लिएर घरभित्र पसेर फर्निचर, टिभी र बाथरुमको सामानसमेत तोडफोड गरेको उनकी बहिनीले बताइन् । उनीहरूले घरका ढोकाहरू समेत फुटाएका थिए ।

बाहिर निस्कनुअघि यी मानिसहरूले घरमा राखिएका सबै पैसा र गहनासमेत लुटेका थिए। तर, त्यहाँ उपस्थित १८ जनामध्ये कसैलाई भीडले आक्रमण गरेन । यी १८ जनामध्ये ६ जना बालबालिका थिए ।

लुटपाट गरेर जानुअघि भीडले उनीहरूलाई चेतावनी दिएका थिए, ‘तिमीहरू अवामी लिगका सन्तान हौँ ! तिम्रो कारणले यो देशको हालत खराब छ, तिमीहरूले देश छाड्नुपर्छ।’

हिन्दुहरू निशानामा किन ?

अविरुप सरकारले आफू घटनाबाट स्तब्ध भए पनि यो घटनाबाट आफू त्यति अचम्ममा भने नपरेको बताए । बंगलादेशमा अल्पसङ्ख्यक हिन्दहरूलाई सामान्यतया शेख हसिनाको पार्टी अवामी लिगका समर्थक मानिन्छ र इस्लामिक देशमा उनीहरूमाथि विपक्षीहरूले बेलाबेला आक्रमण गर्ने गरेको उनी बताउँछन्।

शेख हसिनाले देश छोडेपछि सामाजिक सञ्जालमा हिन्दु सम्पदा र मन्दिरमा आक्रमण भएको समाचारको बाढी आएको थियो ।

भारतका विदेशमन्त्री एस. जयशंकरले अगस्ट ६ मा संसद्मा भने, ‘सबैभन्दा चिन्ताजनक कुरा त्यहाँ बसोबास गर्ने अल्पसङ्ख्यकहरू हुन्। धेरै ठाउँमा उनीहरूको पसल र मन्दिरमा हमला भएको रिपोर्ट आएको छ। यद्यपि यसबारे पूर्ण जानकारी अझै प्राप्त भएको छैन।’

तर, यी सबैको बिचमा यो बर्बरतालाई रोक्न धेरै मुस्लिम युवाहरू हिन्दुहरूको घर र धार्मिक स्थलको रक्षा गर्न अगाडि बढिरहेका छन् ।

अविरुप सरकारले भने, ‘बंगलादेशी हिन्दुहरू सजिलो लक्ष्य हुन्। जब अवामी लिगले सत्ता गुमाउँछ, उनीहरू (हिन्दुहरू)माथि आक्रमण हुन्छ।’

अविरुपकी बहिनीको घरमा आक्रमण भएको यो पहिलो पटक भने होइन । सन् १९९२ मा भारतको अयोध्यामा रहेको बाबरी मस्जिद भत्काएपछि बंगलादेशमा पनि अल्पसङ्ख्यकमाथि आक्रमण भएको थियो । त्यसबेला भीडले अविरुपकी बहिनीको घरमा तोडफोड गरेको थियो ।

त्यसपछिका दशकहरूमा हिन्दुहरूमाथि धेरै आक्रमणहरू भएका छन् ।

मुस्लिमले हिन्दुको रक्षा गरिरहेका छन्

बंगलादेशको मानवअधिकार समूह एनओ सालिस सेन्टरको तथ्याङ्कअनुसार सन् २०१३ को जनवरीदेखि सेप्टेम्बर २०२१ सम्ममा हिन्दु समुदायमाथि ३ हजार ६ सय ७९ वटा आक्रमण भएका छन् । यसमा तोडफोड, आगजनी र लक्षित हिंसा समावेश छ।

२०२१ मा दुर्गा पूजाको समयमा हिन्दु अल्पसङ्ख्यकहरूको घर र मन्दिरहरूमा आक्रमणपछि, मानव अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भन्यो, ‘बंगलादेशमा विगत धेरै वर्षहरूमा व्यक्तिहरूमाथि लगातार हमला, साम्प्रदायिक हिंसा र अल्पसंख्यकका घर र पूजास्थलहरूमा निरन्तर तोडफोड भएको देखिएको छ। यो देशले अल्पसङ्ख्यकहरूको रक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको छ।’

सोमबार अविरुपको परिवारका अन्य सदस्यले पनि हिंसाको सामना गर्नुपरेको थियो । तर, ढाकाबाट करिब १२० किलोमिटर टाढा किशोरगञ्जमा उनको आमाबुवाको घर हिंसाबाट जोगिएको थियो। यसको कारण बताउँदै उनी भन्छन्, ‘किनभने हाम्रो परिवारलाई त्यहाँ राम्रोसँग चिन्छन् र हामी पनि छिमेकका सबैलाई चिन्छौँ ।’

अविरुपका अनुसार उनकी आमाले विद्यालय चलाउँछिन् । उनले आफ्नो व्यापार साझेदारबाट मानिसहरूले आक्रमण गर्ने सम्पत्तिहरूको सूची बनाइरहेको थाहा पाएकी थिइन् । उनले भनेका थिए, ‘तिम्रो नाम त्यो सूचीमा छैन तर अलि होसियार हुनुपर्छ।’

पछि अविरूपका बुवाले आफ्नो घरबाहिर फलामको गेटमा सानो भीड जम्मा भएको देखे । त्यसपछि उनले परिवारलाई भित्रै थुनेर राखे ।

अविरुप भन्छन्, ‘मेरो बुवाले भीडबाट कसैलाई त्यहाँ नजानु, त्यहाँ गर्न केही छैन भनेको सुनेँ।’ यसपछि भीड तितरबितर भयो । 

तर केही दूरीमा किशोरगञ्जको नोगुवा क्षेत्रमा हिन्दु घरहरू लुटिएको खबर आएको थियो। अविरुप भन्छन्, ‘त्यहाँ करिब २०-२५ घरमा हमला भएको सुनेको छु। मेरो हिन्दु साथीको सुन पसलको फोडेर सबै गरगहना लुटियो। तर, तिजोरी तोड्न वा लुट्न सकेनन्।’

अब के?

ढाकाबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने शेरपुर जिल्लाको इलाकामा रहेको अविरुपकी श्रीमतीको घर पनि खतरामा परेको थियो ।

उनको घरमा आक्रमण नभए पनि भीडले छिमेकी हिन्दुको घरमा लुटपाट गरेको थियो । राम्रो कुरा यो हो कि हिंसाको खबर फैलिने बित्तिकै स्थानीय मुस्लिमहरूले हिन्दु घर र मन्दिर वरिपरि सुरक्षा घेरा बनाए।

उनी भन्छन्, ‘पूरै बंगलादेशमा यस्तो भइरहेको छ। मुस्लिमहरूले हिन्दुहरूको सम्पत्तिको रक्षा गरेका छन्।’

तर कुरा यहाँ समाप्त भएन। सोमबार रातिदेखि ढाकास्थित अविरुपको १० तले अपार्टमेन्ट बाहिर पनि भीड जम्मा हुन थाल्यो ।

अविरुप त्यहाँ आफ्नी श्रीमती र छोरीसँग बस्छन्। उनले महसुस गरे कि यी मानिसहरू आफ्नो भवनमा बस्ने एक अवामी लिग काउन्सिलरलाई भेट्न त्यहाँ आएका थिए।

अविरुपले भने, ‘छैटौँ तलाको बार्दलीमा आएर मैले देखेँ कि भीडले भवनमा ढुङ्गा हानेर ढोका तोड्न खोजिरहेको थियो। ढोका राम्ररी बन्द भएकाले उनीहरू भित्र पस्न सकेनन्। उनीहरू पार्किङमै उभिएर बसेका थिए। केही सवारी साधन र सिसाहरू मात्र क्षतिग्रस्त भए ।’

अविरुपकी बहिनीले अहिले उनको परिवारमा थप आक्रमण हुन सक्ने डर रहेको बताइन् । उनले सेनामा रहेका आफ्ना एक जना साथीलाई बोलाए र आफ्नो छिमेकमा सैन्य गाडीहरू गस्ती जारी राख्न अनुरोध गरे।

उनी भन्छन्, ‘यो धेरै पीडादायी समय हो। यहाँ कानुन र व्यवस्था छैन । हामीलाई फेरि निशाना बनाइँदैछ ।’ -बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?