पुस ११, काठमाडौं । सत्तारूढ दल नेपाली काग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ ।
पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भएमा राजनीतिक वृत्तमा सकारात्मक सन्देश जाने र संविधान कार्यान्वयनको चरण सुरू हुने बताए ।
‘तत्काल स्थानीय तहको निर्वाचन गर्न सक्ने सम्भावना नभएकाले निकायकै भए पनि निर्वाचन गर्नुपर्छ,’ देउवाले भने,‘ संविधान संशोधन प्रस्ताव थाति राखेर भए पनि तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्रीसँग र प्रतिपक्षी एमालेसँग छलफल चलाउनुपर्छ ।’-नयाँ पत्रिका दैनिक