काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि थप १० वटा सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विद्यार्थीहरूले अबदेखि रजिस्ट्रेसन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागि आवेदन, शैक्षिक कागजात सुधार, विभिन्न सिफारिस पत्र, प्रमाणपत्र प्रमाणीकरण र प्रतिलिपि ट्रान्सक्रिप्ट तथा मार्कसिटजस्ता सेवाहरू अनलाइनमार्फत पाउने छन्।
वार्षिक पाँच लाखभन्दा बढी विद्यार्थीलाई आवश्यक पर्ने यस्ता सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै कार्यालयले विद्युतीकरणको दिशामा ठूलो फड्को मारेको छ।
यसअघि पनि कार्यालयले दीक्षान्त फाराम, रजिष्ट्रेसन र स्नातक तहका ट्रान्सक्रिप्टजस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराउँदै आएको थियो। २०७९ माघ १५ गते सुरु गरिएको अनलाइन आवेदन प्रक्रिया प्राविधिक कारणले केही समय रोकिएको भए पनि २०८२ वैशाख २ गतेदेखि पुनः परीक्षणका रूपमा सुरु गरिएको थियो। अब असार १५ गतेदेखि ती सेवाहरू विधिवत रूपमा सञ्चालनमा आउनेछन्।