काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ ।
पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र रञ्जु दर्शना हुनुहुन्छ । प्रवक्ता झाले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिकतर्फ तीन सय २५ आवेदन प्राप्त भएका जानकारी दिनुभयो ।
बैठकले आवेदन प्रक्रिया जारी रहँदा अगाडिको प्रक्रिया सुरु गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । सचिवालय बैठकले पारदर्शी उम्मेदवार छनोटका लागि अडिट समितिको संयोजकको जिम्मेवारी उपेन्द्र पाण्डेलाई दिएको छ । यस्तै, आवेदकलाई सातै प्रदेशमा यही पुस ५ गते छलफलका लागि आमन्त्रण गरिने प्रवक्ता झाले जानकारी दिनुभयो ।
छलफल सहजीकरणका लागि समानुपातिकतर्फ उम्मेदवारी नदिएका केन्द्रीय समिति सदस्यलाई प्रदेशगत रूपमा जिम्मेवारी तोकिएको छ । पार्टीले निर्वाचन लक्षित गतिविधि र साझा बुझाइ तयार गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा शुक्रबार ‘निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गर्ने निर्णय गरेको छ ।