काठमाडौँ | वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स्वागत गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ गत कात्तिक ३० गते शुल्क वृद्धि गरी ९ हजार ५०० बनाएको थियो । यद्यपी यसअघि ६ हजार ५०० शुल्कमा वृद्धि भएको हो । त्यो शुल्कले वैदेशिक रोजगारमा जाने कामदारलाई भार परेको भन्दै व्यावसायीहरूले चौतर्फी विरोध जनाएका थिए ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले अत्यन्त चर्को शुल्क भएको महशुस गरेर कामदारको हितका लागि बृद्धि भएको शुल्क खारेज गरिएको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय आप्रवासन दिवसको दिन अनावश्यक स्वास्थ्य परीक्षण शुल्क लिने निर्णय खारेज गरिने बताउनुभएबमोजिम मन्त्रालयले यही पुस ४ गते शुल्क वृद्धि गर्ने निर्णय खारेजी गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तीमा बृद्धि गरेको शुल्क खारेज गरेर साविककै शुल्क लागु हुने भनिएको छ ।
मन्त्रालयले ३४ वटा स्वास्थ परीक्षण आवश्यक भएको भन्दै ९ हजार ५०० शुल्क बनाएको भए पनि जुन गन्तव्य मुलुकहरूमा सबै जाँच गर्न आवश्यक नरहेको वैदेशीक रोजगार सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताउनुभयो ।