काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् ।
कर्णाली प्रदेश सरकार अन्तगतका मन्त्रालयहरूको बुधबारदेखि शुरू भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताएका हुन् ।
उनले भने, ‘हाम्रोमा बाहाना चाहिएको छ, निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन ।’ मुख्यमन्त्री कँडेलले मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण भए पनि तालिका अनुसार काम नभएकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिएका छन् । विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रदर्शन गर्नु पर्ने बताए । मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले सही नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने स्पष्ट पारे ।