काठमाडौँ | आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइँदैछ । हरेक वर्ष जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने गरिन्छ । शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्वसमेत भएको सन्देश फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको महासभाले यस दिवसको घोषणा गरेको हो।
शान्ति, दिगो विकास र समावेशी समाज निर्माणमा शिक्षाको भूमिकालाई केन्द्रमा राख्दै मनाइने यस दिवसले सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिन्छ । शिक्षा सबै नागरिकसम्म नपुगुन्जेल लैङ्गिक समानता हासिल गर्न र गरिबीको चक्र तोड्न कठिन हुने संयुक्त राष्ट्रको निष्कर्ष छ ।
यस वर्ष अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘शिक्षाको सहनिर्माणमा युवाको शक्ति’ रहेको छ । यस नाराले शिक्षालाई केवल सरकार वा शिक्षण संस्थाको जिम्मेवारीका रूपमा मात्र नभई युवाको सक्रिय, सिर्जनशील र रचनात्मक सहभागिताबाट विकास हुने साझा प्रक्रियाका रूपमा व्याख्या गरेको छ ।