काठमाडौँ | गृहमन्त्री ओमप्रकाश आर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेका बताउनुभएको छ । राष्ट्रिय सहिद दिवसका अवसरमा आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उहाँले सहिदहरूको बलिदानकै कारण आज मुलुक स्वतन्त्रता भएको धारणा राख्नुभयो ।
गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्ट पार्नुभयो । उहाँले विभिन्न कालखण्डमा राष्ट्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सहिदहरूको रगतले सिञ्चित यो भूमि आज स्वतन्त्र छ । उहाँहरूको बलिदानकै कारण संविधानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । सहिदहरूले देखाएका सपना साकार पार्न वर्तमान सरकार पूर्ण रूपमा कटिबद्ध छ ।”
गृहमन्त्री आर्यालले सहिद परिवारको संरक्षण, सम्मान र सहयोगलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राज्यको तर्फबाट आवश्यक सहयोग र सम्मान निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहिद परिवारले भोग्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको उहाँको भनाइ छ । “विभिन्न समयमा देशका लागि आफ्नो ज्यान अर्पण गर्ने सम्पूर्ण अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, गृहमन्त्री आर्यालले भन्नुभयो, “जेनजी आन्दोलनका सहिदसहित सबै सहिद परिवारलाई सरकारले सधैँ उच्च सम्मान प्रदान गर्नेछ । उहाँहरूका पीडा र समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्व हो ।”
गृहमन्त्री आर्यालले वर्तमान सरकार नागरिकमैत्री सरकार भएको उल्लेख गर्दै यो सरकारले सधैँ नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कठिन परिस्थितिमा अभिभावकविहीन महसुस गरेका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको दाबी गर्नुभयो ।