
काठमाडौँ | नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयबारे समीक्षा सुरु गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन् ।
उनले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरेका छन् ।
‘लोकतन्त्रमा प्रश्नलाई सदैव प्रोत्साहित र फरक मतलाई सदैव सुरक्षित गर्नै पर्दछ तर, पार्टीको आन्तरिक जीवनमा हामीले कतिपय बेला जायज प्रश्नहरूलाई पनि नजरअन्दाज गर्यौँ, कतिपय बेला फरक मतका नाममा गुटबन्दीको अभ्यास चर्कैसँग गर्यौँ । विभार समूहलाई समर्थन गरिरहँदा विचारलाई होइन व्यक्तिलाई केन्द्रमा राख्यौँ । विमती पनि हामीले तर्कसँग होइन व्यक्तिसँग राख्यौँ,’ उनले भनेका छन्, ‘गुटबन्दीको यो चित्र प्राय सबै दलभित्र उस्तै उस्तै चरित्रका रुपमा विद्यमान थिए । जसबाट पार्टीका इमान्दार सदस्यहरू आजित थिए, अनि नागरिक पंक्तिमा गुटबन्दीको स्वरप्रति वितृष्णा थियो ।’