
काठमाडौँ | वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका सल्यानका एक युवकको चक्कु प्रहारबाट मृत्यु भएको छ। घटनामा आफ्नै साथीबाट आक्रमण भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका-३, दमारखोला निवासी २१ वर्षीय बेदबहादुर बुढा रहेका छन्। आइतबार मलेसियाको स्थानीय समयअनुसार राति करिब ३ बजे भएको घटनामा उनीमाथि चक्कु प्रहार गरिएको बताइएको छ।
कपुरकोट गाउँपालिका-३ का वडा अध्यक्ष प्रदीप खड्काका अनुसार आक्रमण गर्ने व्यक्ति रोल्पाको गंगादेव गाउँपालिका-३ नाउली भालुमारेका करिब २५ वर्षीय चोपिलाल डाँगी रहेको खुलेको छ। घटनापछि मलेसियाको प्रहरीले डाँगीसहित केही अन्य व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ। घटना पेनाङ राज्य क्षेत्रमा भएको हो, जहाँको प्रहरीले आधिकारिक माध्यममार्फत घटनाबारे जानकारी सार्वजनिक गरेको बताइएको छ।
मृतकका काका पर्शुराम बुढाले घटनाको पुष्टि गर्दै पोस्टमार्टम तथा आवश्यक प्रहरी प्रक्रिया पूरा भएपछि शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको कारण साथीबीचको आपसी विवाद हुनसक्ने अनुमान गरिएको छ। सम्बन्धित निकायले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाइएको छ।