
काठमाडौँ | नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख छ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त शुल्क सङ्कलन सुरु गर्न लागिएको आयोजनाले जनाएको छ । सूचना अनुसार सवारीसाधनलाई चार वर्गमा वर्गीकरण गरी काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट प्रस्थान गर्ने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी) काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ लिने निर्णय गरेको छ ।
(मिनी बस, मिनी टिपररट्रक) काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ८० रुपैयाँ लिने छ । (बस तथा सिङ्गल रियर एक्सेल भएका ट्रक) काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २०० लिने भएको छ । मल्टी एक्सेल ट्रकरसवारी साधन र भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २५० लिने भएको छ ।