मङ्सिर ५, काठमाडौं । काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागाभाग भएको छ ।
अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो । सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए ।
बमको हल्लापछि सबै न्यायाधीश र कर्मचारीहरु इजलाश छाडेर चौरमा बसेका छन् । प्रहरीले अहिले सर्वोच्च अदालतमा माइकिङ गर्दै परिसर खाली गराउन अनुरोध गरेको छ । एसपी भरत कोइरालाका अनुसार भवन खाली गराएर प्रहरीले चेकजाँच गरिरहेको छ ।
त्यस्तै बमको हल्लासँगै आजको लागि तोकिएका सबै पेशी स्थगित गरिएका छन् भने आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी अदालतले गराएको छ ।