झुलन रेग्मी//माघ १६, झापा । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उनलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ ।
झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उनकै काँधमा छ, त्यसैले उनी सकिनसकी सिटी रिक्सा चलाइरहेका छन् ।
‘के गर्नु, गरी त खानै पर्यो नि’, श्रेष्ठले भने, ‘आम्दानीको बाटौ छैन, त्यही भएर रिक्सा चलाइरहेको छु ।’ उनले छ महिनाअघि सिटी रिक्सा किस्तामा किनेका हुन् । त्यसबाट कमाएको पैसाले किस्ता तिर्ने र बचेको पैसाले घर चलाउने गरेको उनी बताउँछन् ।
विसं २०६२/६३ को जनआन्दोलनमा चन्द्रगढीमा सैनिकले हानेको गोली लागेर उनी घाइते भएका थिए । राजतन्त्र फाल्न र गणतन्त्र ल्याउनका निमित्त २०७३ वैशाख ६ गते चन्द्रगढी मैदानमा उत्रिएका श्रेष्ठको देब्रे तिघ्रामा गोली लागेको थियो ।
घाइते उनलाई तत्कालै उपचारका लागि धरानको घोपा क्याम्प लगिएको थियो । लामो समयको उपचारपछि उनी घरैमा आराम गरिरहेका थिए तर आम्दानीको बाटो नहुँदा अहिले उनले सिटी रिक्साको सहारा लिएका हुन् ।
‘अहिले पनि घुँडाको घाउ दुखिरहन्छ’, श्रेष्ठले भने, ‘तैपनि सकिनसकी रिक्सा चलाइरहेको छु ।’
त्यसैबेला राजनीतिक दलहरुले उनलाई सहयोग नगरेका भने होइनन् । समिति नै बनाएर उनको उपचार गरियो । समितिले घर बनाइदियो, विवाह पनि गराइदियो ।
मासिक रुपमा नगरपालिका र धुलाबारी खानेपानी संस्थानले रकम सहयोग गरेको थियो तर अहिले सहयोग रोकिएको श्रेष्ठ बताउँछन् । ‘अहिले कतैबाट सहयोग रकम आएको छैन’, उनले गुनासो गरे, ‘बाँच्नकै लागि भए पनि काम नगरी भएन ।’
सरकारी तबरबाट पनि उनले सहयोग खासै पाएका छैनन् । सरकारले उनको अवस्था हेरेर ४० हजार रुपैयाँ सहयोग गरेको थियो । त्यसबेला अन्य घाइतेले पाँच लाखसम्म पाएका थिए । घाइतेको अवस्था हेरेर सरकारले त्यसबेला बनाएको मापदण्डमा उनको अवस्था ‘सामान्य घाइते’ भनेर उल्लेख गरिएको थियो ।
उनलाई स्थानीयस्तरबाट पर्याप्त सहयोग मिलेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले बताए । ‘गोपाललाई घाइते अवस्थामा सबैले खुलेर सहयोग गर्नुभएको छ’, उनले भने, ‘जब कि अरु घाइतेले यतिको सहयोग पाउन सकेनन् ।’
श्रेष्ठ करिब १० वर्ष जति हिँडडुल गर्न सकेनन् । उनी त्यसबेला जनआन्दोलन समितिले बनाइदिएका घरमा आराम गरिरहे । दुई वर्ष यतादेखि सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । लामो समयसम्म हिँड्दा खुट्टा दुख्ने गरेको उनी सुनाउँछन् ।
उनको खुट्टा पूर्णरुपमा निको भएको छैन । चिकित्सकले बेलाबेला जाँचका लागि आउनू भनेछन् तर नगएको धेरै समय बितिसकेको उनी बताउँछन् ।
श्रेष्ठले सिटी रिक्साबाट शुरु शुरुमा राम्रै आम्दानी भए पनि अहिले खासै नभएको बताए । अहिले दिनमा १२ सय देखि १५ सय रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछन् ।
‘रिक्सा पनि धेरै भइसके, यात्रु पाउनै छाडिसक्यो’, उनले भने । धुलाबारीमा मात्र करिब दुई सय सिटी रिक्सा सञ्चालित छन् । मेचीनगर नगरपालिकाले दिने भनेको मासिक तीन हजार ५०० रुपैयाँ भत्ता रोकिएकामा श्रेष्ठको गुनासो छ । रासस