११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ क्रान्तिको युग छ, ओलीले जनयुद्ध स्विकारे: प्रचण्ड

२ फाल्गुन २०७४, बुधबार ०१:५६

फागुन २, काठमाडौँ । माओवादी केन्द्रले २३औँ जनयुद्ध दिवस धुमधामसँग मनायो । राजधानी काठमाडौंसहित सातै प्रदेशमा जनयुद्ध दिवसको अवसरमा कार्यक्रम भए ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- यसपटक जनयुद्ध दिवसको संयोजन गरेको वाईसिएल नेपालले माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कार्यक्रम राखेको थियो । कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे ।

साथै, पार्टीका नेता रामबहादुर थापा वादल, नारायणकाजी श्रेष्ठलगायत पनि थिए । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, जनसांस्कृतिक मञ्चका अध्यक्ष सरल सहयात्रीले पनि कार्यक्रममा धारणा राखे । अभिव्यक्तिका सार थिए, जनयुद्धलाई अब एउटा पार्टीको मात्र नभई सबै कम्युनिष्टको उत्सवक रूपमा तथा राष्ट्रिय पर्वका रूपमा मनाइनुपर्छ ।

सोही कार्यक्रमलाई सम्बोधन गरेका माओवादी अध्यक्ष प्रचण्डले भने,‘नेपाल नयाँ क्रान्तिको युगमा रहेको भन्दै लक्ष्य पूरा गर्न ठूलो दायरा, धेरै जनता र धेरै कार्यकर्ता र धेरै ठूलो मलिलो जमिन चाहिएको छ । 

त्यसका निम्ति नेपालका सबै कम्युनिष्टहरू एक ठाउँमा ल्याउने र ति सबैको केन्द्र बनाउने भूमिका हामीले पूरा गर्नुपर्ने छ ।’ जनयुद्ध दिवसको उनको सम्बोधन यस्तो थियो…

२०५१ साल फागुन १ गते जनगणतन्त्र स्थापना गर्ने र नेपाली समाजलाई समाजवादसँगै साम्यवादको दिशामा अगाडि बढाउने उद्देश्यका साथ विद्रोहको झण्डा उठाएको २३ वर्ष बितेछ । 

हामी भर्खरको युवा हुँदा जनयुद्ध गर्ने, सशस्त्र संघर्ष गर्ने, सामाजिक परिवर्तनको निम्ति हतियार उठाउने जमर्को २०४६ सालको ऐतिहासिक जनआन्दोलनभन्दा अगाडि नै गरेका थियौँ । तर, देशको राजनीतिक परिस्थिति, तत्कालीन निरंकुश पञ्चायतकाविरुद्ध सम्पूर्ण तागतको साथ सबै राजनीतिक दलहरू मिलेर आन्दोलन गर्नुपर्ने थियो । त्यसकारण, अहिले के सम्झिएको छु भने– म त्यतिबेला भर्खरै सानो पार्टीको महामन्त्री थिएँ । देशमा सशस्त्र संघर्ष सुरु गर्ने कि ? ठूलो जनआन्दोलनमार्फत् सहभागी हुने भन्ने गम्भीर प्रश्न खडा भयो ।

त्यतिबेला केही हतियार जम्मा गरिएको र तालिम लिइसकिएको थियो । म नै सशस्त्र संघर्षको प्राविधिक प्रमुख पनि थिए । पार्टीको पनि प्रमुख भएपछि हाम्रो अगाडि प्रश्न खडा भयो । 

छापामार युद्ध सुरु गर्ने कि ? जनआन्दोलनमा सहभागी भएर पञ्चायत ढाल्ने ? मैले त्यतिबेला सोचेर पार्टीमा प्रस्ताव गरेँ– यतिबेला छापामार युद्ध गर्नु भनेको पञ्चायतलाई सहयोग गर्नु सरह हो ।

किनकि हामीले तुरुन्तै छापामार युद्ध सुरु गरेको भए जित्न सकिँदैन थियो । त्यतिबेला जनता पञ्चायत ढाल्ने मुडमा आइसकेका थिए । सबै राजनीतिक दलहरू पञ्चायतविरोधी आन्दोलनको पक्षमा छन् । 

त्यसकारण सशस्त्र संघर्ष गर्ने एजेन्डालाई थाँती राखेर पञ्चायत कांग्रेस, तत्कालीन माले, अन्य विभिन्न पार्टीहरू मिलेर संयुक्त रूपमा जनआन्दोलन र वाममोर्चा हुँदै हामी पनि सहभागी भयौँ ।

०४६ सालको जनआन्दोलनबाट निर्दलीय निरंकुश पञ्चायती तानाशाही व्यवस्था सदाका लागि अन्त्य भयो । देशमा बहुदल आयो । बहुदल आउने बित्तिकै बहुदल नै सबै चिज हो भने जसरी कुप्रचार गरियो । 

त्यतिबेला हामी बहुदल केही पनि होइन भनेर भ्रम चिर्न लाग्यौँ । हामीले राजतन्त्र, सामन्तवाद, विदेशी हस्तक्षेप कायमै रहेकाले बहुदल आउँदैमा जनताका समस्यामा खासै तात्विक फरक पर्ने वाला छैन भन्यौँ । 

जनतालाई धेरै ठूलो परिवर्तन आयो भन्ने लागेको थियो । हामीले धोका हो भनेर त भन्यौँ तर धोका नै हो भनेर जनतालाई बुझाउनका लागि हाम्रो तागतले सक्ने स्थिति थिएन ।

हाम्रो सानो समूह जनतालाई बुझाउने हैसियतमा थिएन । त्यतिबेला लाखौँ करोडौँ जनता पञ्चायतको जित नै ठूलो जित हो भनिरहेका थिए । त्यतिबेला फेरि एउटा प्रश्न खडा भयो सानो समूहको पार्टी र महासचिवको हैसियतले मेरा सामू । 

मैले त्यतिबेला जनता जहाँ छन् त्यही बस्नुपर्छ भनेर भने । केही मान्छेले चाहेर मात्रै क्रान्ति हुने होइन, क्रान्तिको निम्ति जनता चाहिन्छ र जनतालाई बुझाउनु पर्छ । जनताबिना क्रान्ति हुँदैन भन्ने निष्कर्षसहित संसद्मा जाने निर्णय गर्‍यौँ । 

संसद्मा गएर जनतालाई भन्नुपर्छ भनेर गयौँ । जनताको सामान्य जीवनमा, राष्ट्रियताको पक्षमा जनजीविका र जनतन्त्रको पक्षमा केही उपलब्धि भएन भनेर निर्वाचनमा सहभागी भई संसद्को राष्ट्रममा गएर चर्को स्वरले भन्नुपर्छ अनि मात्रै जनताले थाहा पाउनेछन् ।

हामीले चाहेजस्तो परिवर्तन भएको रहेनछ । हामीले त अर्को आन्दोलन पो गर्नुपर्ने रहेछ भन्ने जनतालाई बुझाउनु पर्छ भरे निर्वाचनमा पनि गयौँ । त्यतिबेला समान विचार भएका कम्युनिष्टहरूबीच एकता हुन पनि जरुरी छ, एउटा सानो समूहले क्रान्ति गर्छु भन्ने रहर गरेर मात्रै हुने पनि होइन । 

क्रान्ति खेलभाड होइन । केही युवाहरूको जोश मात्रै पनि क्रान्ति होइन भनेर लेनिनका पुस्तकहरू, माक्र्स, एंगेल्स, माओत्सेतुङका विचारहरूमा हामी खुब छलफल गथ्र्यौँ । त्यतिबेला हामी संसद्मा गयौँ ।

केही मान्छेहरूले भन्ने गरेका थिए, यो पार्टी संसद्मा पनि गयो, दक्षिणपन्थीहरूसँग एकता पनि गर्‍यो भनेर सिद्धियो भन्ने गरेका थिए । हामीले त्यतिवेला एकताकेन्द्र बनाएका थियौँ । हामीले सानो समूहबाट होइन पार्टी एकता गर्दै ठूलो बहसमा गएर जनतालाई बुझाएर मात्रै क्रान्तिको पक्षमा बोल्न र जनमत संकलन गरी क्रान्ति सम्पन गर्न सकिन्छ भनेर गएका हौँ । 

तर, केही मान्छेहरूलाई पत्यार लागेको थिएन । केहीलाई यो क्रान्ति गर्न गएको होइन, संसद्वादतिरै गएको हो डुब्यो अब पार्टी भनेर केहीले कडा आलोचना पनि गरे ।

त्यतिबेला हामी ५ वर्ष संसद्मा रहँदा नयाँ जनवादी क्रान्ति जिन्दावाद भनेर रोष्ट्रमबाट नारा लगाएका थियौँ । पाँच वर्षको संसदीय संघर्षले जनयुद्धको निम्ति वातावरण बनायो । 

त्यसको पाँच वर्षपछि मात्रै हामीले जनयुद्ध सुरु गरेको हो । हामीले गरेको परिस्थितको विश्लेषण सही भएकाले नै जनयुद्ध टिक्यो । वस्तुगत र आत्मगत रूपमा नै सहि सावित भएकाले जनयुद्ध विस्तारित हुँदै गयो । 

जनयुद्धले शक्ति आर्जन गर्दै गएकाले हामी संसद्वाद र दक्षिणपन्थी भासमा डुबेनौँ । इतिहास साक्षी छ–संसद्मै रहेर पनि हामीले क्रान्तिलाई अगाडि बढायौँ ।

अहिले जनयुद्ध र जनआन्दोलन आपसमा समायोजित भएकाले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आयौँ । संविधान निर्माण गरेर उत्पीडित जाति क्षेत्र समुदायलाई केही अधिकारहरू दिइएको छ । 

उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने ठाउँसम्म हजारौँ सहिदको रगतको मूल्यमा र लाखाैँ जनताको योगदानमा अहिलेसम्म आइपुगेका हौँ । २०औँ शताब्दीको अन्त्य र २१औँ शताब्दीको सुरुभएसँगै हामीले गरेको जनयुद्ध महान क्रान्ति थियो ।

मान्छेले हामीलाई घोषणा गरेका थिए– दुईचार महिनामा ध्वस्त हुन्छन् भनेर । कोहीले ६ महिना त कोहीले वर्ष दिनमा यिनीहरूको युद्ध सकिन्छ सबै मारिन्छन् भनेका थिए । 

कतिपय हाम्रा पूराना साथीहरूले पनि होनाहार युवाहरू थिए मर्ने भए भनेर चिन्ता व्यक्त गरेका थिए । तर, हाम्रो आन्दोलन मरेन । हाम्रो आन्दोलन बरु जन्मियो, हुर्कियो, बढ्यो, विस्तारित भयो र नेपालमा राजनीतिलाई नै नयाँ दिशा दिने केन्द्रभागसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउने ठाउँसम्म आइपुग्यो ।

हाम्रा घुम्ती र मोडहरूमा रहेर रणनीति र कार्यनितिमा फेरबदल गर्‍यौँ । परिस्थितिको ठिकठिक मूल्यांकनको आँकलन गरी कठोर निर्णय लिने काम पनि गर्‍यौँ । कहिले अगाडि बढ्ने कठोर निर्णय त कहिले पछाडि हटेर बचाउने कठोर निर्णय पनि चाल्यौँ । एकथरी मानिसहरू अगाडि बढेर मात्रै क्रान्ति पूरा हुन्छ भन्छन् त्यो एकांकी विचार र सोच हो । 

दुनियाँमा अगाडि बढेर मात्रै कहीँ पनि क्रान्ति पूरा भएको छैन । पार्टी र नेतृत्वले आवश्यकता पर्दा पछाडि हटेर शक्ति संचय गर्ने र फेरि अगाडि बढ्ने तरिकाबाट नै क्रान्तिहरू सम्पन्न भएका छन् ।

अहिलेको परिवर्तनमा जनयुद्धको देन छ । म यो कुरा किन भन्दैछु भने आजको दिनमा नेपाल नयाँ क्रान्तिको युगमा छ । हामी नयाँ जनवाद जिन्दावाद होइन, समाजवाद जिन्दावादको नारा लगाएर नेपाली समाजका क्रान्तिका अधुरा कामहरू, सहिदका अधुरा सपनाहरू, बेपत्ता योद्धा र घाइते अपांगता भएका र नेपाली जनताको अधुरा सपनाहरू पूरा गर्ने अभियान नयाँ समाजवादी अभियानको तरिकाद्वारा अगाडि बढाउन चाहन्छौँ । जसका लागि ठूलो दायरा, धेरै जनता र धेरै कार्यकताको आवश्यकता परेको छ । अब धेरै ठूलो मलिलो जमिन चाहिएको छ ।

त्यसका निम्ति नेपालका सबै कम्युनिष्टहरू एक ठाउँमा ल्याउने र ति सबैको केन्द्र बनाउने भूमिका हामीले पूरा गर्नुपर्ने छ । त्यो नगरी समाजवाद जिन्दावाद भन्नुको कुनै अर्थ र औचित्य छैन । नेपालको परिवर्तन चाहने, आफूलाई वामपन्थी प्रगतिशील भन्नेहरू सबैको नेतृत्वमा तागत संकलन गरेर मात्रै सिंगो देश र करोडौँ जनतालाई एकतावद्ध गरेर मात्रै समाजवाद आउँछ ।

इतिहासका सबै घुम्ती, मोड, पीडा र मर्महरू स्मरण गरी निरन्तर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाउन चाहन्छौँ । त्यसो गर्दा वैज्ञानिक नभई, वस्तुवादी नभई, परिस्थितिको ठिकठिक आँकलन नगरी क्रान्ति गर्छु भन्यौँ भने त्योभन्दा दुर्भाग्य अरु केही हुँदैन । 

देशका आफूलाई कम्युनिष्ट भन्नेहरू र क्रान्तिका हिमायती भन्नेहरूलाई एउटा बलियो कम्युनिष्ट पार्टी बनाउने दिशामा अगाडि बढ्न आह्वान गर्न चाहन्छु । मलाई खुसी छ–यो प्रक्रिया अगाडि बढ्दैछ ।

हामी दुई वटा पार्टी एकताको छलफलमा छौँ । हाम्रो कुरा हुँदा हामीले के भनेका थियाैँ भने र अर्को पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले के कुराको महत्व स्वीकार्नुभएको छ भने– ‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको ऐतिहासिक भूमिका थियो र छ । 

र, जनयुद्ध दिवसकै दिन पार्टी एकतालाई टुंग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेर हामीले भनेका छौँ ।’ हाम्रो कोशिस छ सकेसम्म आज नै टुंगोमा पुगोस् । र, सम्पूर्ण प्रतिक्रियावादी र साम्राज्यवादीको चुनौती नेपालबाट हटाउन सकियोस् ।

म कमरेड विप्लवलाई त्यस्तो दिवासपनाबाट बुउँझिन आग्रह गर्छु । दिवा सपना देखेर मात्र केही हुँदैन, सपना धरातलमा टेकिएको हुनुपर्छ, विज्ञानमा आधारित हुनुपर्छ । 

रहर र लहडबाट क्रान्ति हुँदैन । यदि त्यस्तो हुन्थ्यो भने दुनियाँ अर्कै ठाउँमा हुन्थ्यो । त्यसका म कमरेड विप्लवलगायतलाई एकठाउँमा बसेर छलफल गर्न र एउटा शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर राष्ट्रलाई एकतावद्ध गर्न अपिल गर्न चाहन्छु ।

झण्डै तीन करोड नेपालीलाई सँगै आवद्ध गरी समाजवादको यात्रमा अघि बढ्ने महान् अभियानमा संलग्न हुन सबैमा अपिल गर्न चाहन्छु । मेरा गुरु कमरेड किरणलाई भन्न चाहन्छु, द्वन्द्वात्मक भौतिकवाद के हो ? अदिभूतवाद के हो ? कितावमा द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे र पढे । 

जीवनमा द्वन्द्वात्मक भौतिकवाद लागू गर्ने के चिज हो भन्ने कुरा रियलाइज गरेर जनता जहाँ छन् त्यहाँ जाने हो । माक्र्सवादको चुरो कुरो नै त्यही हो । माओत्सेतुङले त अझ माक्र्सलाई नै मुख्य कुरा हो भन्नुभयो । 

अब त उहाँहरू जनता छाडेर जान थाल्नुभएको छ । जनतादेखि भाग्ने । अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनीकन घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवासपनाबाट ब्युँझिन म अपिल गर्न चाहन्छु । मेरो यो उहाँहरूलाई गम्भीर र हार्दिक अपिल पनि हो ।

नेपालमा समृद्धि पनि समाजवाद पनि हामी एक साथ अगाडि बढाउने असाधारण परिस्थिति यतिबेला नेपालमा छ । यसलाई भत्काउनका लागि संसारभरका साम्राज्यवादी, प्रतिक्रियावादीहरू अहिले लागेका छन् । तपाईंहरू साम्राज्यवादको पक्षमा कि जनताको पक्षमा ? भन्ने कुरा तपाईंको व्यवहारबाट टुंगिने कुरा हो । तपाईं यो महान् अभियानमा जुटेर समाजवादको अभियानमा लाग्नुभयो भने तपाईं जनताको हुनुभयो । 

यसलाई भत्काउन चाहने, कम्युनिष्टहरू एकतावद्ध नहुन्, वामपन्थीहरू एकतावद्ध नहुन् भन्ने चाहने प्रतिक्रियावादीलाई फाइदा पुग्ने पुर्‍याउने गरी काम गर्नुहुन्छ भने तपाईले जतिसुकै चर्का कुरा गरे पनि तपाई जनताको मान्छे होइन । विज्ञानले त्यही भनेको छ । त्यसकारण म फेरि एकपटक बनेको वातावरण र पाएको अवसर नगुमाउन अनुरोध गर्छु ।

यस्तो अवसर र वातावरण सधैँ आउँदैन । हामीलाई पनि २०४६ सालभन्दा अगाडि नै जनयुद्ध गरेर क्रान्ति गर्ने मन थियो, रहर थियो । तर, रहरले हुँदोरहेनछ । ०५२ साल फागुन १ नै पर्खिन पर्‍यो । एकता केन्द्र नै बनाएर जान पथ्र्यो । अहिले पनि कुरा त्यही हो । नियम विज्ञान त्यही नै हो । त्यसकार म सबै यो अवसर नगुमाउन चाहन्छु । 

यस महान् दिनमा नयाँ क्रान्तिको नेतृत्व गर्ने फेरि अवसर हामीलाई आएको छ । नेतृत्व भन्ने कुरा दिनुपर्छ भनेर पाइने होइन । आफ्नो सक्रियता, क्षमता, त्याग र तपस्याद्वारा लिनुपर्ने कुरा हो । 

हामीले गरेको जनयुद्ध, त्यसपछिको जनआन्दोलन र त्यसको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र हामीले नै प्रस्ताव गरेको वाम गठबन्धनसँगै पार्टी एकता एउटा अवसर हो । यसलाई गुम्न नदिऊँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा