पढ्न करिब 3 मिनेट लाग्छ

मोहन पौडेल | चैत १६, परासी (रासस) | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिर धार्मिक पर्यटकीयस्थल बन्दै गएको छ । प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने भएकाले यहाँ भक्तजन आउने गर्छन् ।

बालपुरी कुटीको रूपमा परिचित यहाँको दर्शन तथा पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने गरेको धार्मिक विश्वास छ । यो स्थल बाबा बालपुरी स्वामीले तपस्या गरेको तपोभूमि पनि हो । नेपाल र भारतका विभिन्न ठाउँबाट गरी यहाँ वार्षिक हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । साउनमा जलापर्ण गर्न यहाँ ठूलो भीड लाग्छ । यसबाहेक पनि शिवरात्रि, कृष्णाअष्टमी, तीजलगायत चाडमा भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीयवासी लीलाबल्लभ डुम्रे बताउनुहुन्छ ।

आठ वर्षअघि सोही मन्दिरमा मठाधीशको रूपमा मोहन पुरी (खुर्सानी बाबा) आएपछि उहाँको पहलमा मन्दिरको भौतिक पूर्वाधार निर्माणमा प्रगति भएको डुम्रेले बताउनुभयो । अहिले उक्त मन्दिर परिसरमा अखण्ड धुनी मन्दिर, शिवालय, महाकाली, भैरवकाली, हनुमान मन्दिर, गणेशको ठूलो मूर्ति, एक सय आठ शिवलिङ्गलगायतका संरचना निर्माण भएका छन् ।

पुरी बाबा मठाधीशका रूपमा आउनुभन्दा पहिले त्यहाँ अखण्ड धुनी बल्ने गरेको जीर्ण अवस्थाको घर र शिवालय मन्दिर रहेको स्थानीयवासी युवराज डुम्रे बताउनुहुन्छ । मन्दिरमा भक्तजनले चढाएको भेटी, दान, सहयोग रकम र मठाधीश पुरीले आफ्नै लगानीमा समेत मन्दिरको निर्माण गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

मङ्गलबार र शनिबार भक्तजनको भीड लाग्छ । खुर्सानीको हवन गरी मठाधीश पुरीले भूतप्रेत भगाउने गरेको तथा आफ्नो भूतभविष्य जान्नका लागि उहाँसँग हेराउनेको उक्त दिन भीड लाग्ने गरेको छ ।

एक/दुई वटा खुर्सानी आगोमा पोल्दा त्यसबाट आउने खारले नजिक बस्न सक्ने स्थिति हुँदैन । तर यहाँका मठाधीशले नियमित रूपमा खुर्सानीबाटै हवन गराउँदै आएको अचम्मको विशेषताले पनि उहाँप्रति भक्तजनको विशेष आस्था रहेको स्थानीयवासी बताउँछन् । दनदनी बलेको कुण्डमा सयौँ किलो खुर्सानीबाट हवन गर्दा समेत आफूलाई खारको अनुभूति नै नहुने गरेको मठाधीश पुरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बालपुरी मठ स्वामी बालपुरीको तपोस्थल हो, प्राचीन समयदेखि यहाँ निरन्तर अखण्ड धुनी बलिरहेको छ । विशेषत यो स्थान स्वामी बालपुरीको जिउँदो समाधिस्थल हो । उहाँका ५२ धुनीमध्येको एक यो अखण्ड धुनी हो । म आएदेखि पनि निरन्तर पाँच वटा अखण्ड बत्ती मैले बालिरहेको छु ।”

बालपुरी मठलाई धार्मिक पर्यटकीयस्थल बनाउने गरी सुस्ता गाउँपालिकाले पनि उच्च प्राथमिकता दिएर प्रवद्र्धन तथा बजेट विनियोजन गरिरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउनुहुन्छ । गाउँपालिकाले गत वर्ष मन्दिरको गजुर निर्माण, मार्वल, टायल बिछ्याउन तथा मर्मत सम्भारका लागि रु दुई लाख बजेट दिएको थियो भने चुहाडी चोकबाट मठको गेटसम्मको बाटो कालोपत्र निर्माणका लागि रु पाँच लाख विनियोजन गरी काम भएको उहाँले बताउनुभयो ।

उक्त बाटो पूरा नभएपछि यस वर्ष कालोपत्र गर्ने गरी बजेट विनियोजन भएको छ । यसैगरी मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि रु २५ लाख विनियोजन गरिएको र यसै वर्ष सम्पन्न हुने अध्यक्ष पाण्डे बताउनुहुन्छ । गाउँपालिकाकै सवैभन्दा प्राचीन मन्दिरको रुपमा रहेकाले यसको प्रचारप्रसार, प्रवद्र्धन, संरक्षण तथा भौतिक पूर्वाधार निर्माणका लागि पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।