पढ्न करिब 3 मिनेट लाग्छ

भदौ १६, तनहुँ | पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झरना देखेपछि रोकिएकै हुन्छन् । झरनामा रमाउँदै, तस्बिर खिच्दै पर्यटक उक्त झरनाको सुन्दरता देखेर मोहित हुने गरेका छन् । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण झरनामा रमाउन पुग्ने गरेका छन् ।

दमौलीका विनय शाहले झरना निकै मनमोहक रहेकोले यहाँ आउने जोकोही पनि मोहित हुने गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो झरनाले पनि पर्यटक आकर्षित गर्न सक्ने शाहले बताउनुभयो । “झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

व्यास नगरपालिका–२ का शिवहरि धितालले ऐनापहरा झरना निकै आर्कषक लागेको बताउनुभयो । “झरना निकै राम्रो छ, पहरो र चट्टानी ढुङ्गाले झरनालाई आकर्षक देखाउँछ”, उहाँले भन्नुभयो, “यसको व्यापक प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सक्नुपर्छ ।”

झरनामा तनहुँलगायत गोरखा, चितवन, लमजुङलगायतका आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पछिल्लो समय झरना ‘रिफ्रेस स्टेशन’ को रुपमा विकास हुन थालेपछि आँबुखैरेनी गाउँपालिकाले पूर्वाधार निर्माणमा ध्यान दिएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले झरनामा पर्यटकको चहलपहल बढ्न थालेकाले पूर्वाधार निर्माणलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार यस क्षेत्रमा शौचालय, रेलिङ र बसपार्क निर्माणको काम शुरु गरिएको छ । यी पूर्वाधार निर्माणका लागि गाउँपालिकाले रु नौ लाख बजेट विनियोजन गरेको छ । “पर्यटकको बाक्लो उपस्थिति हुन थालेपछि सवारी व्यवस्थापनका लागि बसपार्क निर्माण थालेका छौँ”, उहाँले भन्नुभयो, “साथै शौचालय निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।”

गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारसँगै रहेको यस झरनाले सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्षलाई सहयोग पुर्याउने अध्यक्ष थापाले बताउनुभयो । “राजमार्गमा यात्रा गर्नेहरुले यस ठाउँलाई थकाइ मेट्ने थलो बनाउन थालेका छन्,” उहाँले भन्नुभयो, “यसले गर्दा यहाँ केही पसल खुलेका छन्, जसले गर्दा स्थानीयवासीलाई आम्दानीको स्रोत पनि बनेको छ ।”

झरनाको प्रवद्र्धनका लागि गाउँपालिकाले प्रचारप्रसार अभियानलाई पनि तीव्र पारिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो । “गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा झरनालाई विकास गर्ने योजना बनाएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो ।

पौडेलका अनुसार झरनासँगै रहेको ठूला चट्टानी ढुङ्गामा बसेर पर्यटकहरु तस्वीर खिच्न मन पराउने गरेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. २ र ४ को सीमानामा पर्ने झरनामा तनहुँकै अग्लो महाभारत श्रृङ्खला छिम्केश्वरीको फेदीबाट सिउदी खोलाको पानी बगेर आएको छ । रासस

तश्वीर: सुपेन श्रेष्ठ